बुटवल-सहकारी ठगीको अनुसन्धानका लागि भैरहवा ल्याइएका रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ। रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसँग बयान लिन ल्याइएको हो।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई पोखराबाट आजै पोखराबाट बुद्ध एयरको विमानबाट भैरहवा ल्याइएको हाे । विमानस्थलमा ओर्ले लगत्तै कडा सुरक्षा घेराबीच लामिछानेलाई सिधै जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी खनालले बताउनु भयो । ‘सरकारी वकिलको कार्यालय आइपुगे लगत्तै बयान लिन सुरु गरेको उहाँले जानकारी दिनुभयो।
लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवं वर्तमान संरक्षक गितेन्द्रबाबु राईसहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । तीमध्ये लामिछानेसहित १२ जनालाई कात्तिक ८ गते अनुमति दिएको थियो ।
प्रतिक्रिया