दैलेख-माधवकुमार नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जंगबहादुर शाही नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। एकीकृत समाजवादी कर्णाली प्रदेशको प्रथम अधिवेशन प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा चलिरहेकै समयमा शाही आज एमालेमा प्रवेश गर्नुभएको हो।
नेकपा एमाले पार्टी कार्यालय दैलेखमा एक कार्यक्रमबीच नेता शाहीलाई एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेल, पोलिटब्यूरो सदस्य लक्ष्मीप्रसाद पोखरेल, केन्द्रीय सदस्य विनोदकुमार शाहले पार्टीमा स्वागत गर्नुभयो।
अध्यक्ष नेपालको विश्वासपात्र मानिएका नेता शाही नै एमालेमा प्रवेश गरेसँगै उहाँलाई कर्णाली प्रदेशमै ठूलो झडका लागेको छ। नेकपा एस पार्टीको औचित्य सकियो भन्ने निश्कर्षसहित एमालेमा फर्किएको नेता शाहीले बताउनु भयो।
अहिले नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशको प्रथम अधिवेशन प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा जारी रहेको छ। उक्त अधिवेशनको उदघाटन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल कर्णाली पुगेकै समयमा पार्टीका केन्द्रीय सदस्य शाही एमालेमै फर्किनु भएको हो ।
दैलेखको महाबु गाउँपालिका निवासी शाही एमाले दैलेखको पूर्वसचिवसमेत हुनुहुन्छ। उहाँ २०७६ सालमा जिल्ला सचिव हुनुभएको थियो। जिल्ला र पालिकामा लोकप्रिय र जनताबीच भिजेका नेता शाही एमालेमै फर्किएपछि दैलेखमा नेकपा एस निकै कमजोर बनेको छ ।
एमाले स्रोतका अनुसार उहाँलाई मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट महाबु गाउँपालिका दैलेखको अध्यक्षको उम्मेदवार बनाउन लागिएको छ। यस अघि गत कात्तिक २४ गते बसेको एमाले सचिवालय बैठकले ३३ ठाउँका उम्मेदवार तय गरेको थियो। महाबुको भने टुंग्याउन बाँकी थियो। सो ठाउँमा शाहीलाई उम्मेदवार बनाउने तयारी एमालेले गरेको छ।
नेता शाही २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट महाबु गाउँपालिका दैलेखको अध्यक्षमा निर्वाचित हुनुभएको थियो भने २०७९ को स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट शाही उम्मेदवार बनेर करिब १९ सय मत प्राप्त गर्नुभएको थियो ।
दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको हृदयघातका कारण २०७९ माघ २७ गते निधन भएको थियो । उहाँको निधन भएपछि यसपालिकामा निर्वाचन हुन लागेको हो । गुरुङले ३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गर्नुभएको थियो ।
प्रतिक्रिया