अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश विकासका लागि राजनीतिक स्थायित्व आवश्यक: शंकर पोखरेल

देश विकासका लागि राजनीतिक स्थायित्व आवश्यक: शंकर पोखरेल


विराटनगर-नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति स्थायित्व हुने हो भने देश निर्माणको लागि धेरै समय नलाग्ने बताउनुभएको छ। 

विराटनगरमा आज नेकपा एमाले संगठन कमिटी मोरङकोद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले देश विकासको लागि राजनीतिक स्थायित्व आवश्यक पर्ने बताउनुभयो। पोखरेलले अन्य देशले गरेको विकासलाई हेरेर नेपालका राजनीतिक दललाई गाली गर्ने भन्दा पनि नेपाली मौलिकताको विकास मोडल अघि बढाउनु पर्नेमा जोड दिनुभयो। 

नेपालको विकास तेल बेचेर धनी भएका अरबियन मुलुक जस्तो सोचेर नहुने उहाँको धारणा छ। नेपालको विकास रातारात हुने खालको विकास नभएको उहाँले बताउनुभयो। नेपालको विकास सरकारले एक्लै गर्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो। ‘नेपालको विकासको ढाँचा जनतालाई साथमा लिएर विकास गर्ने ढाँचा हो’, उहाँले भन्नुभयो। 

नेकपा एमाले देशमा स्थायित्व र स्थिरताको लागि लडिरहेको पार्टी भएको उहाँले दाबी गर्नुभयो। त्यसैले अहिले एमाले र एमालेको नेतृत्व माथि प्रहार भइरहेको उहाँले बताउनुभयो। 

एमालेसँग भएको विशाल कार्यकर्ताको समूह चुनाव जित्नको लागि मात्र होइन समाज बदल्न सक्ने सामर्थ्य राख्ने शक्ति भएको उहाँले बताउनुभयो। एमालेको लक्ष चुनाव जित्ने मात्र नभएर समाज परिवर्तनको भएको पनि उहाँले स्पष्ट पार्नुभयो। 

कमजोरहरूले शासन गर्न थालेपछि सरकार प्रति जनताको विश्वास नरहेको उहाँले बताउनुभयो। त्यसैले देश ओरालो गतिमा लागेको पोखरेलको भनाइ छ। ‘स्वाभाविक रूपमा मुलुक संकटमा पर्नुको कारण त्यही हो’, पोखरेलले भन्नुभयो। 

पोखरेलले एमाले सिद्ध्याउन धेरै शक्ति लागेका भए पनि उनीहरू सफल नभएको बताउनुभयो। अहिले एमाले सिद्ध्याउन खोज्नेहरूको मन पोलेको उहाँले टिप्पणी गर्नुभयो।