विराटनगर-सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले कोशी प्रदेशमा दुई दलीय सयन्त्र गठन गरेका छन्। विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा बुधबार बिहान पत्रकार सम्मेलन गरेर दुई दलीयबीच सयन्त्र गठन भएको निर्णय सार्वजनिक गरेको हो।
प्रदेश संयन्त्रमा एमालेबाट एमाले कोशी इन्चार्ज तथा पूर्वमुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले कोशी अध्यक्ष घनश्याम खतिवडा रहेका छन् भने नेपाली कांग्रेसका तर्फबाट पूर्वमुख्यमन्त्री उद्धव थापा हुनुहुन्छ।
यसैबीच, मंगलबार बसेको संयन्त्रको पहिलो बैठकले दुई दलीय प्रदेश संयन्त्रको बैठकको अध्यक्षता पालैपालो गर्ने निर्णय गरेको छ। बैठकले दुई दलीय संयन्त्र गठनसम्बन्धी जारी परिपत्र अनुसार संयन्त्रलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
यसैगरी, बैठकले नेपाली कांग्रेसको तर्फबाट सभापतिले तोकेको एक जना प्रतिनिधि रहने व्यवस्था अन्तर्गत कांग्रेसका प्रदेश कार्यसमितिका महामन्त्री उमेश थापालाई कांग्रेसको तर्फबाट संयन्त्र सदस्यमा थप गर्ने निर्णय गरेको छ। बैठकले प्रदेश संयन्त्रबाट सहजीकरण गरी एक हप्ता भित्र जिल्ला संयन्त्र गठन गर्ने निर्णय पनि गरेको छ।
यसैगरी, बैठकले सार्वजानिक सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जनमुखी, सुशासनयुक्त बनाउन प्रदेश तथा स्थानीय तहको सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरी समाजमा व्याप्त सबै प्रकारका अराजकता र भ्रष्टाचारलाई अन्त्य गर्न सबै संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय गरेको बताइएको छ।
बैठकले कोशी प्रदेशको दुई दलीय संयन्त्र र कोशी प्रदेश सरकारका मन्त्रीहरुसँग प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउने मंसिर १४ गते शुक्रबार विराटनगरमा छलफलको आयोजना गर्ने निर्णय गरेको छ।
यसैगरी, बैठकले दुई दलीय संयन्त्रको कार्यलाई एउटै मर्म र गतिमा एकरुपता साथ प्रभावकारी ढंगले अगाडी बढाउने उद्देश्यले प्रदेश तहमा १४ वटै जिल्लाका जिल्ला संयन्त्रका सदस्यहरुको संयुक्त बैठक तथा छलफलको आयोजना आगामी मंसिर २९ गते शनिबार विराटनगरमा गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया