काठमाडौँ-नेकपा एमालेले मंसिर ७ गते काठमाडौँमा आयोजना गर्ने जागर सभा भव्य र व्यवस्थित गर्न एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय संयोजन समिति गठन गरेको छ।
एमालेले मंसिर ७ गते काठमाडौँ उपत्यकाका तीन जिल्लाको संयुक्त आयोजनामा जागरण सभा सफल बनाउनका निम्ति समिति गठन गरेको हो।
सभाको तयारीका लागि बुधबार एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा उपत्यका मातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त बैठकले नेकपा एमाले बागमती प्रदेशका इन्चार्ज भट्टराईको संयोजकत्वमा संयोजन समिति गठन गरेको हो । समितिको सहसंयोजकमा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेल रहेका छन् भने सदस्यहरुमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, वचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेवे, समिक बडाल र जनक चौधरी रहेका छन् ।
जागरण सभा संयोजन समितिको बुधबारै बसेको पहिलो बैठकले सभालाई प्रभावकारी बनाउन जनपरिचालन, जनसभा र जनप्रदर्शन समेतको व्यवस्था मिलाएको संयोजक भट्टराईले जानकारी दिनुभयो।
मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानूनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ गर्न लागिएको जागरण सभाले पार्टीको दृष्टिकोण, धारणा, आमजनताका बीचमा पुर्याउने उद्देश्य लिएको संयोजक भट्टराइले बताउनु भयो।
जागरण सभा संयोजन समितिको आजै बसेको प्रथम बैठकले सभालाई प्रभावकारी बनाउन, जनपरिचालन, जनसभा, जनप्रदर्शन समेतको व्यवस्था मिलाएको छ ।
प्रतिक्रिया