काठमाडौं-बुटवल-नारायणगढ सडक खण्ड विस्तारमा भइरहेको ढिलासुस्तीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज तीन जिल्लाका जनप्रतिनिधिहरुसँग छलफल गर्दै हुनुहुन्छ।
रुपन्देही, नवलपरासी र नवलपुरका संघीय सांसद, विभागीय मन्त्री, प्रदेश मन्त्री, प्रदेशसभा सदस्य र तीनवटै जिल्लाका स्थानीय तहका प्रमुखहरुसँग बिहीबार बिहान ओलीले छलफल गर्न लाग्नु भएको हो।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडकखण्ड विस्तारमा डिलासुस्ती हुँदा यात्रुले लामो सयमदेखि सास्ती पाउँदै आएका छन्। सडक निर्माणको काम समयमै नसकिँदा बर्खामा हिलो र हिउँदमा धूलोको सास्ती खेप्नुपर्ने बाध्यता छ। विगत ६ वर्षदेखि विस्तार भइरहे पनि नारायणगढ–बुटवल सडकको काम अझै सकिएको छैन।
यो सडक विस्तारको जिम्मा चिनियाँ ठेकेदारले लिएको छ। तर काममा ढिलासुस्ती गरेको भन्दै आलोचना हुँदै आएको छ। प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुअघि सो सडक विस्तारमा भइरहेको ढिलासुस्तीबारे चासो राख्नु भएको हो।
प्रतिक्रिया