अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुटवल-नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्छ: भौतिकमन्त्री दाहाल

बुटवल-नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्छ: भौतिकमन्त्री दाहाल


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्रीको निर्देशनको आधारमा बुटवल-नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्ने बताउनु भएको छ।

बिहीबार नारायणगढ-बुटवल सडकखण्ड क्षेत्रमा पर्ने जिल्लाका जनप्रतिनिधिहरूले निर्माण कार्यमा लापरबाही भएको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझ्ने कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

मन्त्री दाहालले मन्त्रालयले बुटवल-नारायणगढ सडक निर्माण कम्पनीलाई लक्ष्य निर्धारण गरेर तिहारपछिबाट काम गर्ने निर्देशन दिए पनि काम अहिलेसम्म थालनी नभएको बताउनु भयो। उहाँले एडिबीको ऋणबाट सञ्चालित आयोजना भएकाले चीनमा निर्माण कम्पनीको कार्यालयमा गएर ताकेता समेत गरिएको बताउनु भयो।

मन्त्री दाहालले समयमा ठेक्का सम्झौताअनुसार काम सक्न बारम्बार भन्दै आएको बताउनु भयो। उहाँले पछिल्लो पटक निर्माण कम्पनीको अधिकार सम्पन्न व्यक्तिले डिसेम्बरको अन्तिमसम्ममा काम सुरु गर्ने एसएमएस पठाएको बताउनु भयो।

चाइनास्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । हालसम्म ४४ प्रतिशत रकम भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको जनाइएको छ।

मन्त्री दाहालले डिसेम्बरबाट सडक निर्माणको काम थालनी गरेको अवस्थामा भने त्यही निर्माण कम्पनीलाई काम गर्ने दिने तयारी मन्त्रालयले गरेको पनि बताउनु भयो।

उहाँले भन्नुभयो, ‘मन्त्रालयले बुटवल–नारायणगढ सडक निर्माण कम्पनीलाई लक्ष्य निर्धारण गरेर तिहारपछिबाट काम गर्न निर्देशन दिएका थियौँ। तर काम थालनी भएको छैन। एडीबीको ऋणबाट सञ्चालित आयोजना भएकाले चीनमा गएर निर्माण कम्पनीको कार्यालयमा गएर ताकेता समेत गर्‍यौँ। निर्माण कम्पनी ७ अर्ब रकम पठाएकाले अब पठाउन सक्दैनौँ भनिरहेको थियो। सरकारका तर्फबाट भुक्तानी दिने काममा तलमाथि गरेका छैनौँ। समयमा ठेक्का सम्झौताअनुसार काम सक्न बारम्बार भन्दै आएका छौँ। तर पनि काम सुरु भएको छैन। पछिल्लोपटक निर्माण कम्पनीको अधिकार सम्पन्न व्यक्तिले एसएमएस पठाएको छ। डिसेम्बरको अन्तिमसम्ममा काम सुरु गर्छौं भनेको छ। त्यसमा विश्वास गर्ने कि नगर्ने भन्ने अवस्था छ। डिसेम्बरबाट सडक निर्माणको काम थालनी गर्छ र काम गर्छ भनेर सरकारलाई विश्वास लागेको छैन। अब निर्णय गर्ने ठाउँमा पुगेका छौँ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका विषयमा बिहीबार त्यस क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्नुभएको थियो। प्रधानमन्त्री निवास, बालुवाटारमा उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मंसिरभित्र काम सुरु नभए बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताउनु भएको थियो ।