काठमाडौं-नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले भित्र आगो लगाउने प्रयास गरेका बताउनुभएको छ।
बिहीबार नेकपा एमाले रामेछाप नगर कमिटीले पुष्पलालको जन्मथलो भँगेरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै चौलागाईँले नेकपामा रहँदा होस् वा माओवादी नेतृत्वमा एमाले रहँदा अध्यक्ष प्रचण्डले एमालेमा आगो लगाएर भष्म पार्ने षडयन्त्र गरेका बताउनुभयो। पछिल्लो पटक दाहालको चलखेल सुरु भएपछि एमालेले उहाँको नेतृत्वको सरकार छाडेको चौलागाईँले बताउनुभयो।
प्रचण्ड सधैँभरि विदेशीको इशारामा नाच्ने पात्र भएको उहाँको भनाइ छ। ‘राजनीतिक अस्थिरतामा प्रचण्ड मार्फत विदेशी शक्ति खेल्न लागेपछि कांग्रेस र एमाले मिल्नु पर्यो’, उहाँले भन्नुभयो।
नेपालमा लामो समयदेखि विदेशीको हस्तक्षेप जारी रहेको चौलागाईँले दाबी गर्नुभयो। विदेशीको हस्तक्षेप र दबाबलाई सबैभन्दा बढी बेहोर्ने नेता एमाले अध्यक्ष केपी शर्मा ओली भएको पनि उहाँले दाबी गर्नुभयो । ‘विदेशीको हस्तक्षेप विरुद्ध सबैभन्दा बढी लडेको नेता केपी ओली हो, जसले भारतको नाकाबन्दी विरुद्ध लड्यो, नेपाललाई कहिल्यै कसैले नाकाबन्दी गर्न नसक्ने स्थितिमा पुर्यायो’, उहाँले भन्नुभयो।
नेपाल र नेपालको राजनीतिलाई धराशायी बनाउन हिरोलाई भिलेन र भिलेनलाई हिरो बनाउने काम अहिले भइरहेको उहाँले बताउनुभयो। विगत देखिनै देशको लागि ऐतिहासिक योगदान गर्ने व्यक्तिका विरुद्ध भ्रम फिँजाउने काम इण्डियाले सुनियोजित रूपमा गर्ने गरेको पनि उहाँले सुनाउनुभयो।
सोही योजना अनुसार नै अहिले नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध भ्रम फिँजाउने काम भएको उहाँले बताउनुभयो। यी सबै कुरालाई चिर्न नेकपा एमाले एक भएर लाग्नु पर्नेमा चौलागाईँले जोड दिनुभयो। सबैले साझा अठोट गरेर मिसन २०८४ मा पार्टीले लिएको लक्ष पुरा गर्ने गरी लाग्नु पर्ने उहाँको धारणा छ।
नेकपा एमाले समाजवादको आधार तयार गर्ने कार्यदिशा लिएर स्पष्ट रूपले अघि बढेको बताउँदै उहाँले यस कुरामा पार्टी भित्र कुनै विवाद नभएको प्रष्ट पार्नुभयो। यसको लागि कामको मुख्य केन्द्र पालिकालाई बनाउनु पर्ने र पार्टी कमिटीहरूलाई बैठकदेखि बैठकसम्म र पार्टीलाई चुनावदेखि चुनावसम्म मात्र केन्द्रित गर्न नुहुने चौलागाईँले बताउनुभयो।
प्रतिक्रिया