काठमाडौं-नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनी गर्ने भएको छ। कमिटीले स्थानीय उत्पादन वस्तुको प्रवर्द्धन तथा बजारीकरणको लक्ष्यसहित प्रदर्शनी गर्न लागिएको हो।
कोशी प्रदेशका १४ जिल्लामा उत्पादन भएका वस्तुको बजारीकरण र प्रवर्द्धनका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले कमिटीले यही मंसीर १ गते शनिवार एमाले केन्द्रीय कार्यालय तुलसिलाल स्मृति भवन च्यासलमा उत्पादनको प्रदर्शनी गर्न लागेको एमाले कोशी प्रदेश सम्पर्क कमिटीका उपसचिव तथा प्रचार-प्रसार विभाग प्रमुख राजेन्द्र गुरुङले जानकारी दिनुभयो।
कोशीका १४ वटा जिल्लाको स्टल समेत खडा गरी उत्पादित वस्तुको बजारीकरण गर्ने उपसचिव गुरुङले बताउनुभयो। स्थानीय उत्पादन प्रवर्द्धनका प्रदर्शनी कक्ष राखिनुका साथै स्थानीय घरेलु उत्पादन, कृषिजन्य उत्पादन, हस्तनिर्मित सामान, दैनिक उपभोग्य सामग्रीलगायत राखिने उहाँले बताउनु भयो। उहाँले भन्नुभयो, ‘उद्यमीलाई प्रोत्साहन गर्दै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो। यसबाट उद्यमीको कार्यक्षमता, दक्षता र पेसा तथा व्यवसायमा उत्साह बढ्ने विश्वास लिइएको छ।’
कमिटीले स्थानीय उत्पादनको प्रवर्धन गर्ने भएकोले आवश्यक स्थानीय उत्पादन खरिद तथा बिक्रीको लागि आव्हान समेत उहाँले गर्नुभएको छ।
स्थानीय उत्पादनसँगै प्रदेश सम्पर्क कमिटीका सदस्यहरुको भेला, निःशुल्क दन्त परिक्षणका साथै उत्कृष्ट उत्पादकलाई पुरष्कृत गरिने कमिटीले जनाएको छ । सो कार्यक्रममा हालै सम्पन्न फुटसल प्रतियोगिताका उत्कृष्ट टीमलाई पुरस्कार वितरण गर्ने जनाएको छ।
जनतालाई उत्पादनसँग जोड्दै परनिर्भरता कम गर्न कमिटीले अन्य विभिन्न कार्यक्रम पनि गर्दै आएको छ। यसअघि कोशी प्रदेश कमिटीको महिला विभागले तीजको अवसरमा महिलालाई व्यावसायिक तथा सीपमूलक तालिम दिएको थियो।
प्रतिक्रिया