काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका दिवंगत पूर्व सभामुख दमननाथ ढुङ्गानाको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाइ अन्तिम सम्मान गर्नुभएको छ।
ढुुङ्गानालाई श्रद्धाञ्जली दिन आज उहाँको पार्थीव शरीर राखिएको स्थान सानो गौचरण पुगेर प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले झण्डा र पुष्पगुच्छाबाट सम्मान गर्नुभएको हो।
श्रद्धाञ्जलीसभामा नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रीगण, विभिन्न पार्टीका नेता कार्यकर्ता र सामाजिक क्षेत्रका व्यक्तिहरु सहभागी हुनुहुन्थ्यो।
प्रधानमन्त्री ओलीले ढुुङ्गाना नेपालको लोकतान्त्रिक प्रणालीमा बेग्लै प्रभाव छोड्न सफल, अत्यन्त मिलनसार, मृदुभाषी, सरल र अशल मान्छे हुनाका साथै सबैका कुरा सुन्ने व्यक्तित्व हुनुभएको बताउनुुभयो।
प्रधानमन्त्री ओलीले ढुुङ्गानामा मुलुुकका लागि व्यवस्थित सोच पाइन्थ्यो भन्दै त्यही भएर सरकारले राष्ट्रिय सम्मानका लागि अन्तिम बिदाइको निर्णय गरेको जनाउनुभयो। ढुुङ्गानाले देखाउनुभएको बाटोमा अघि बढ्न आफूहरु प्रतिबद्ध हुने प्रधानमन्त्रीले बताउनुभयो।
मन्त्रिपरिषद्को आज बिहानको बैठकले ढुुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आजका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
प्रतिक्रिया