काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गरेको छ। एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले सोमबार विज्ञप्ति जारी गर्दै निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र न्यायिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको छ ।
“‘सत्तापक्षको सरकार, प्रतिपक्षको सदन’ मान्यताका अनुयायी, संसदीय प्रणालीमा सभामुखको स्पष्ट मानक निर्माण गर्ने तथा सभामुखकीय तटस्थताको वकालत गर्ने स्व ढुङ्गानाको भूमिका सदैव स्मरणीय रहनेछ,” गौतमले विज्ञप्तिमा भन्नुभएको छ ।
आइतबार ८३ वर्षको उमेरमा उपचारका क्रममा फ्रन्टलाइन अस्पतालमा उहाँको निधन भयो । ढुङ्गाना वरिष्ठ कानुनविद्, मानवअधिकारवादी तथा नागरिक समाजका अगुवा पनि हुनुहुन्थ्यो । आज सरकारले उहाँको निधनमा शोक मनाउँदै सार्वजनिक बिदासमेत दिएको छ ।
प्रतिक्रिया