अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचन: गौरीशंकरका मतदाताको घरघरमा उमा शेर्पा (फोटोफिचर)

उपनिर्वाचन: गौरीशंकरका मतदाताको घरघरमा उमा शेर्पा (फोटोफिचर)


काठमाडौं-यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको तयारीमा यतिबेला राजनीतिक दल र उम्मेदवारहरू जुटेका छन्।
विभिन्न जिल्लाका स्थानीय तहका ४४ स्थानमा हुने उपनिर्वाचनको प्रचारमा राजनीतिक दल र उम्मेदवारहरू लागेका हुन् । उम्मेदवारहरू अहिले घरदैलो लगायतका चुनावी प्रचार अभियानमा छन्।

दोलखाको दुर्गम हिमाली गाउँ गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदको उम्मेदवार बन्नुभएकी उमा शेर्पा अहिले आफ्नो चुनावी प्रचार अभियानमा व्यस्त हुनुहुन्छ। शेर्पा घर दैलो तथा विभिन्न चुनावी कार्यक्रममा लागिरहनु भएको छ।

जनताको हरेक सुख-दुःखमा साथ रहने प्रतिविद्धताका साथ उमा मतदाताको घरदैलोमा पुग्नु भएको छ। नागरिकले आफू प्रति धेरै आस गरेकाले त्यो आशालाई मर्न नदिने उहाँको प्रतिबद्धता छ।

गाउँमा भएका विकासका अधुरा कामलाई पुरा गर्दै अघि बढ्ने उहाँले बताउनुभयो । नागरिकका समस्या आफूले सकेसम्म समाधान गर्ने शेर्पाको प्रतिबद्धता छ । ‘म काठमाडौंमा बसेर होइन, गाउँमा नै बसेर काम गर्छु भनेर आएको छु’, उहाँले भन्नुभयो।
गौरीशंकर गाउँपालिका आफ्नो घर र त्यहाँका जनता आफ्नो परिवार भएकाले आफ्नो परिवारलाई अप्ठेरो पार्ने काम कहिल्यै नगर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

शेर्पा गौरीशंकर गाउँपालिका–७, मार्वु सिक्पाश्वरकी स्थायी बासिन्दा हुनुहुन्छ । २०४६ साल फागुन २ गते ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा जन्मनुभएकी शेर्पा गौरीशंकरकी बुहारी हो ।

सामाजिक र व्यवसायी क्षेत्रमा क्रियाशील शेर्पा कराँते खेलाडी समेत हुनुहुन्छ । २०७२ को भूकम्प, कोभिड महामारी तथा बाढी पहिरो लगायतका समयमा उहाँले पीडितको सहयोगका लागि धेरै काम गर्नुभएको छ । लायन्स क्लबमा आबद्ध भएर उहाँले सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएको छ ।

देश निर्माणको जिम्मा एमालेले लिएको बताउँदै उहाँले आफू पार्टीले लिएको त्यही अभिभारा पुरा गर्न गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनेको बताउनुभयो। नागरिकको अभिमत एमाले र आफूले मर्न नदिने बताउँदै उहाँले मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो।

तस्वीरमा हेर्नुहोस्ः