काठमाडौँ-सत्तारुढ नेकपा एमालेले भोलि (शुक्रबार) काठमाडौंमा जागरण सभामार्फत ‘शक्ति प्रदर्शन’ गर्दैछ। देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निरासा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ।
आज अपराह्न सम्पदाहरूसँग समसामयिक राजनीतिक विषयमा गरिएको अन्तरक्रियामा उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्र असान्दर्भिक भयो कि भन्नेका विरुद्ध जागरण अभियान भएको जानकारी दिनुभयो। ‘देश बन्दै छ, हामी बनाउँछौँ’ भन्ने सन्देश जनतालाई दिनुपर्ने सरकारमा हुने दलहरूको जिम्मेवारी भएको उहाँको भनाइ छ। एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी १ लाख उतार्ने लक्ष्य लिएको छ। उपत्यकाको तीन जिल्ला, जनसंगठन, सम्पर्क कमिटीसहितको उपस्थिति हुने भएकाले त्यति संख्या पुर्याउने दाबी गरिएको छ।
कस्तो छ तयारी ?
जागरण सभाका संयोजक स्थायी कमिटी सदस्य डा. राजन भट्टराईलाई तोकेको थियो। तर आईसीएपीपीको अधिवेशनमा सहभागी हुन कम्बोडिया उडेपछि अहिले बागमती अध्यक्ष कैलाश ढुंगेललाई उक्त जिम्मेवारी दिइएको छ। भद्रकालीबाट सुरू हुने जुलुस, न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत हुने बताइएको छ।
जुलुस र सहभागिता बढ्ने देखिएकाले पूर्व निर्धारित स्थल भृकुटीमण्डपमा ट्राफिक व्यवस्थापनमा समस्या र सर्वसाधारणलाई मर्का पर्ने देखिएकाले फराकिलो र एउटा सडक मात्र प्रभावित हुने ठाउँ खोजिएको एमालेले जनाएको छ। जुलुस साढे ११ बजेबाट सुरू भई १२ बजे सभामा परिणत हुने बताइएको छ। सभाका प्रमुख वक्ता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ।
प्रतिक्रिया