अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको जागरण सभामा १ लाख मान्छे उपस्थित हुन्छन्: दीपक निरौला

एमालेको जागरण सभामा १ लाख मान्छे उपस्थित हुन्छन्: दीपक निरौला


काठमाडौं-नेकपा एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले भोली काठमाडौंमा हुने नेकपा एमालेको जागरण सभामा एक लाख नागरिक उत्रिने बताउनुभएको छ। 

नेकपा एमाले काठमाडौं, भक्तपुर र ललितपुरले शुक्रबार काठमाडौंमा आयोजना गर्ने जागरण सभाको अन्य तयारी पुरा भएको र आज रातभरमा मञ्च तयार गरिने निरौलाले बताउनुभयो। ‘समाजमा फैलिएको नकारात्मक दृष्टिकोणलाई सकारात्मक दिशा तर्फ लैजाने, राष्ट्रिय सद्भाव कायम गर्ने र समाजलाई सही दिशा तर्फ लैजानको लागि हामीले यो कार्यक्रम आयोजना गरिएको हो’, निरौलाले भन्नुभयो। 

कार्यक्रमको लागि अन्य सबै तयारी पुरा भएका बताउँदै निरौलाले भोलि बिहान ११ बजे भद्रकालीबाट र्‍याली सुरु भएर दरबारमार्ग पुग्ने जानकारी दिनुभयो। ‘सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्नुहुने छ, हामीले एक लाख मान्छेको उपस्थितिमा कार्यक्रम सम्पन्न गर्ने लक्ष राखेका छौँ’, उहाँले भन्नुभयो। 

नेपाली समाजमा फैलाइएको सामाजिक अराजकतालाई चिर्न कार्यक्रम आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयो । ‘समाजमा विद्वेष फैलाउने प्रयत्न भएको छ, गलत प्रवृत्ति विकास गर्ने प्रयत्न भइरहेका छन्, त्यसका विरुद्धको यो अभियान हो’, निरौलाले भन्नुभयो। 

राजनीतिक पार्टीहरू सरकारमा हुँदा होस् वा नहुँदा सधैँ जनताको बिचमा हुने भएकोले सरकारमा रहेको बेला किन कार्यक्रम गर्न लागेको भन्ने प्रश्न नै नउठ्ने निरौलाले बताउनुभयो। ‘जनताको बिचमा जाने भनेको सडकमा नै जाने हो, जनतालाई पार्टीका विचार र धारणा सम्प्रेषण गर्ने सडकबाट नै हो, त्यसैले हामीले भोलि सडक कार्यक्रम राखेका हौँ’, उहाँले भन्नुभयो। 

निरौलाले एमाले माथि फैलाइएको भ्रम, सरकार र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लगाइएका निराधार आरोप र लाञ्छना भोलिको कार्यक्रमले चिर्ने बताउनुभयो। एमाले र एमाले नेतृत्वको सरकारले गरेका काम र आगामी योजनाको बारेमा पनि भोलिको सभामा प्रष्ट पारिने निरौलाले जानकारी दिनुभयो। त्यसैले कार्यक्रममा सहभागी भई एमालेको धारणा सुन्न र भ्रमबाट मुक्त हुन उहाँले उपत्यकावासीलाई आह्वान गर्नुभयो।