काठमाडौं-नेकपा एमालेको आज काठमाडौंमा हुन लागेको जागरण सभाको लागि र्यालीको तयारी सुरु भएको छ।
भद्रकालीबाट सुरु हुने र्यालीको कमाण्ड गर्न जागरण सभाका कमाण्डर नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल भद्रकाली पुग्नु भएको छ।
जागरण सभाको कामण्डरको जिम्मेवारी पाउनु भएका नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई पार्टी कामको सिलसिलामा देश बाहिर जानु परेकोले सो जिम्मेवारी ढुङ्गेलले सम्हाल्नु भएको छ।
जागरण सभामा सहभागी हुन आउनेहरू भद्रकालीमा जम्मा हुने क्रम जारी रहेको छ। बाजागाजा सहित पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरू भेला भइरहनुभएको छ।
भद्रकालीमा भेला भएर सुरु हुने र्याली, सुनधारा, वीरअस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरण सभामा परिणत हुने कार्यक्रम छ । कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यक्रम स्थलमा दिउँसो १ः३० बजे पुग्ने कार्यक्रम रहेको छ । आजको सभामा एक लाख बढीको उपस्थिति हुने एमालले आकलन गरेको छ।
प्रतिक्रिया