काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने बताउनु भएको छ।
नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटा जिल्ला कमिटीले शुक्रबार काठमाडौंको दरबारमार्गमा गरेको जनजागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार देश र जनताको पहरेदारको रुपमा रहेको दाबी गर्नुभयो ।
‘एमालेलाई कसैले हल्लाउन सक्दैन। अहिलेको समीकरणलाई कसैले हल्लाउन सक्दैन। सरकारलाई कसैले हल्लाउन सक्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो सरकार कमिसन खोरीका लागि होइन। मेरिटोक्रेसीको नाममा आफ्ना कार्यकर्ता भर्नका लागि होइन । जनताको विकासको चाहना पूरा गर्ने र स्थायित्व दिने गरी बनेको हो।’
उहाँले एमाले र नेपाली कांग्रेस प्रतिस्पर्धी पार्टी भएपनि अहिले मुलुकका लागि एक ठाँउमा उभिएको बताउनु भयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी हुन्। तर कांग्रेस र एमाले किन एक ठाउँमा छन् किन भने अहिले हामीबीचको प्रतिस्पर्धाभन्दा एकता चाहिन्छ। अराजकताको स्थिति ल्याउन खोजिएको छ। समाजलाई भाँड्न खोजिएको छ । त्यसैले हामी मिलेका छौ । नेपाली जनताले ल्याएको लोकतन्त्र र सार्वभौम जनताको हैसियतविरुद्ध षड्यन्त्र भइरहेको छ।’
प्रधानमन्त्री ओलीले नेकपा एमाले हल्लाको पछि नदौडने दल भएको बताउनु भएको छ। उहाँले ओलीले नेकपा एमाले विरुद्ध अनेक हल्ला चलाइए पनि नेकपा एमाले भ्रमको पछि नदौडन बताउनुभयो। ‘नेकपा एमाले कागले कान लग्यो भन्दैमा कागका पछि-पछि आकाश तर्फ हेरेर कागका पछि-पछि दौडन पार्टी होइन’, उहाँले भन्नुभयो।
नेपाली जनताले ठूलो बलिदानबाट अहिलेको व्यवस्था ल्याएको बताउँदै जनता कुहिराको काग बनेर नदौडीने प्रधानमन्त्री ओलीले बताउनुभयो। नेपाली जनता आफ्नो गौरव कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई पूरा गर्न अघि बढ्ने ओलीले प्रष्ट पार्नुभयो। ‘नेपाली जनता भ्रममा पर्दैन’, उहाँले भन्नुभयो।
एमाले सरकारमा पनि रहेको र सरकारमा रहेरै सभा गरिरहेको उहाँले बताउनुभयो। यो सरकार दशैँ पनि काट्दै भनि गरिएका भ्रामक प्रचार सरकारले चिर्दै आएको बताउँदै उहाँले अहिलेको समीकरणले पुरै समय काम गर्ने ओलीले स्पष्ट पार्नुभयो। ‘२०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छ’, ओलीले भन्नुभयो।
अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोजिएको बताउँदै ओलीले सार्वभौम जनताको भविष्यलाई संकटमा पर्ने प्रयास गरिएको बताउनुभयो। देश र जनता प्रमुख कुरा भएकाले देश, जनता, विकास र सुशासनका पक्षमा एमाले दृढ रहेको उहाँले बताउनुभयो।
ओलीले जसले आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अरबौँका मालिक बनाएका छन् उनीहरू आफ्नो विरुद्ध आरोप लगाउँदै हिँडेका ओलीले बताउनुभयो । उहाँले आफू माथि औँला ठड्याउनेलाई बहसमा आउन चुनौती दिनुभयो ।
बैङ्कको ऋण तिर्नु पर्दैन भन्दै कोही कराउँदै हिँडेका बताउँदै उहाँले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउनका लागि ती शक्ति लागेका बताउनुभयो । उद्यमीलाई खेद भन्ने अभियान पनि त्यसकै लागि चलेका ओलीले दाबी गर्नुभयो । बक्यौता नउठाउने तर विद्युत् लाइन काट्ने काम पनि तिनै शक्तिले गरेका ओलीले दाबी गर्नुभयो।
समाज र समुदायका बिच अनेक खालका विद्वेष फैलाउने काम भएका भन्दै उहाँले आलोचना गर्नुभयो । नीति अगाडि सार्न नसक्नेले गाली गलौच गर्ने, अपशब्द प्रयोग गर्ने काम गर्ने काम गरिरहेका ओलीले बताउनुभयो। ‘घृणा फैलाउने कुरा नेपाली समाजलाई स्वीकार्य छैन’, उहाँले भन्नुभयो ।
कानुन विपरीत अपराध गर्नेलाई अहिलेको सरकारले नछाड्ने ओलीले दाबी गर्नुभयो। देशका सुशासन स्थापनाको लागि सोची, सम्झिकन नेकपा एमाले र कांग्रेस मिलेर सरकार बनाएका ओलीले स्पष्ट पार्नु भयो। ‘आफैँ सरकारी ठगी गर्ने अरूलाई मुख छाड्ने, अनि अरूलाई गाली गर्ने, कुनै पनि प्रकारको ठगी सह्य हुने छैन’, उहाँले भन्नुभयो।
प्रतिक्रिया