काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतबाट आज काठमाडौं ल्याइने भएको छ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित थप बयानका लागि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याउन लागिएको हो।
काठमाडौं जिल्ला अदालतले मंसिर २ गते लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो ।
यस्तै, गोर्खा मिडियाका पूर्वसञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि सोही सहकारी बचत अपचलन मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। जोशीको बयान काठमाडौंको जिल्ला सरकारी वकिल कार्यालयमा लिइएको छ।
कास्की जिल्ला अदालतले आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। कास्कीमा उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई पुनः कास्की फिर्ता लगिने छ।
यसअघि बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि लामिछानेलाई रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिइएको थियो। साथै, लामिछाने विरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ र प्रहरी उनलाई त्यहाँ बयानका लागि लैजाने तयारीमा रहेको छ।
प्रतिक्रिया