काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली अहिलेको सरकार जनताको सरकार भएको बताउनु भएको छ।
सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा शुभकामना दिँदै एमाले अध्यक्षसमेत रहेका ओलीले मेरो सहारा कोही छैन भन्नेका निम्ति राज्य र सरकार रहेको बताउनु भएको हो ।
‘सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध छ। अब कसैले अनाथ भएँ भन्नु पर्दैन। अनाथ हुनु दुःखको कुरा हो। तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन। मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन। मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन। त्यसका निम्ति राज्य छ र सरकार छ।’ प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ, ‘अहिलेको सरकार जनताको सरकार हो। सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिंडेको सरकार हो।’
प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ।
हरेक नागरिक सचेत हुनुपर्दछ र आफूले सामाजिक सुरक्षाको सन्दर्भमा योगदान पनि गर्नुपर्दछ भनेर आफूले योगदानमा आधारित सामाजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाको सुरुवात गरेको उहाँले उल्लेख गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको अभियानमा लम्किरहेको बताउनु भयो। ‘सुशासन र विकासको अभियानमा लम्किरहेको सरकार हो। देश र जनताप्रति निष्ठा र प्रतिबद्धता भएको सरकार हो। सरकारले कसैलाई पनि एक्लो र असहाय हुन दिँदैन। यस दिनको अवसरमा कसैलाई पनि एक्लो महसूस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गर्दछु।’
उहाँले सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको दाबी गर्नुभयो। प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ, ‘हामीले विधिवत् रुपमा सामाजिक सुरक्षा अभियानलाई भिन्नै र उन्नतस्तरबाट सुरु गरेका थियौँ । सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास हो। त्यसैले यसभित्र हाम्रा अभिभाराहरु हामीले उपयुक्त ढंगले बुझ्न जरुरी छ। सामाजिक सुरक्षा मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चितताको हो । मानव जाति सचेत प्राणी भएको हुनाले आफ्नो सुरक्षाका लागि सदैव चिन्तित रह्यो। तर, उपायहरु पत्ता लगाउन, तरिकाहरु पत्ता लगाउन र अवलम्बन गर्न लामो समयसम्म त्यति सफल रहेन। यसका लामा इतिहास छन्। पछि हाम्रो देशमा कर्मचारीहरुको सञ्चयकोष, पेन्सनजस्ता कुराहरुबाट सुरक्षाको अवधारणाले केही मात्रामा आकार लिन थाल्यो।’
प्रतिक्रिया