काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले छैटौं एशियाली जनसंख्या सम्मेलन (एपीसी)को उद्घाटन गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले भर्खरै जन्मिएकी बालिकालाई स्वागत गरेर भिडिओ कलमार्फत आमा र बच्चा दुवैको स्वास्थ्यलाभको कामना गर्दै काठमाडौँमा आयोजित सम्मेलनको उद्घाटन गर्नुभएको हो।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय जनसंख्या विभाग र एसियन पपुलेसन एसोसिएसन (एपीए) को सहकार्यमा सम्मेलन सुरू भएको छ।
मंसिर १५ गतेसम्म चल्ने सम्मेलनमा ३४ वटा देशका ५०० भन्दा बढी जनसंख्या विज्ञ, नीति निर्माता, र अनुसन्धानकर्ता सहभागी रहेको आयोजक समिति संयोजक प्राडा योगेन्द्रबहादुर गुरुङले जानकारी दिनु भयो। प्राडा गुरुङ अनुसार एशियाली देश बाहेक अमेरिका,अष्ट्रेलिया लगायतका देशबाट पनि जनसंख्या विज्ञहरु नेपालमा आएका छन्। सम्मेलनमा १७ वटा विषयमा ४०० वटा भन्दा बढी कार्यपत्रहरु प्रस्तुत हुने गुरुङले बताउनु भयो। एकैदिन पाँचवटा हलमा अलग अलग सेसनहरु सञ्चालन हुनेछन्। एकैदिनमा २५ वटा भन्दा सेसनहरु सञ्चालन हुने गुरुङले जानकारी दिनुभयो।
समितीका सदस्य सचिव एवं नेपाल जनसंख्या संघ (पान)का अध्यक्ष डा.पद्मप्रसाद खतिवडाका अनुसार सम्मेलनको अन्तिम दिन नेपाल शेसन पनि सञ्चालन हुनेछ। उक्त शेसनमा राष्ट्रिय तथ्यांक कार्यालयका तर्फबाट राष्ट्रिय जनगणना २०७८ का नतिजाहरुका बारेमा प्रष्तुतिकरण रहनेछ। जसमा नेपालको घट्दो प्रजननन् दर, बढ्दो बुढ्यौली, युवा जनसंख्या आदिका विषयमा व्यापक छलफल गर्ने तयारी छ। यसैगरी श्रम तथा रोजगारी मन्त्री शरदसिंह भण्डारीले नेपालका प्रवासी श्रमिक र युवा जनसंख्याका बारेमा एक कार्यपत्र समेत प्रस्तुत गर्नुहुनेछ।
सम्मेलनमा भाग लिन एशियन जनसंख्या संघ (एपिए)का अध्यक्ष रोइको ह्यासी दुई दिनअघि नै काठमाडौं आइपुग्नु भएको हो। सम्मेलनमा विभिन्न राजनीतिक दलका नेताहरु तथा सातै प्रदेशका उपसभामुखहरु समेत सहभागी हुने जनाएको छ।
प्रतिक्रिया