अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बीआरआई ऋणमा लिनु उचित छैन: प्रदीप ज्ञवाली

बीआरआई ऋणमा लिनु उचित छैन: प्रदीप ज्ञवाली


काठमाडौं-नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा लिनु उचित नभएको बताउनु भएको छ।

बुधबार काठमाडौंमा आयोजित नेभिगेटिङ रणनीतिक प्रभावहरूको राष्ट्रिय सेमिनारमा बोल्दै उपमहासचिव ज्ञवालीले अहिले चीनसँग बिआरआईअन्तर्गत कुनै ठूला प्रोजेक्टमा लोन लिएर गर्ने परिपक्क समय नरहेको भन्दै बीआरआई ऋणमा लिनु उचित नभएको बताउनु भएको हो।

उहाँले भन्नुभयो, ‘हामीले पुँजीगत खर्च २२-२३ प्रतिशत जम्म छुट्याउँछौं कूल बजेटको खर्च हुन्छ त्यसको पनि ५० प्रतिशत खर्च हुन्छ। यो स्थितिभित्र हामीले थप लोनहरु लिन सक्ने अवस्थामा चाहिँ छैनौँ। त्यसैले अहिले यति नै बेला चीनसँग बिआरआईअन्तर्गत कुनै ठूला प्रोजेक्टमा लोन लिएर गरौँ भन्ने खालको कुरा चाहिँ आवश्यक छ जस्तो लाग्दैन। उचित छैन। यो समय परिपक्क होइन् भन्ने नै लाग्छ।’

उहाँले बाहिरबाट दिने ऋणमा अप्ठ्यारा सर्तहरु आउने गरेको भन्दै अप्ठ्यारा कुराहरुलाई राजनीतिक आँखाले हेर्न नहुने बताउनु भयो। प्रधानमन्त्रीको चीन भ्रमणमा चीनको अधिकतम सहयोग नेपालको हितमा जुटाउने गरी सफल पार्न उहाँले आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘लोनहरुमा हुने अथवा आउने सर्तहरु अलि अलि अप्ठ्यारा छन्। जुनसुकै देशको हकमा पनि यस्ता अप्ठ्यारा कुराहरुलाई त्यही ढंगले डिल गर्नुपर्छ। यसलाई राजनीतिक आँखाले हेर्नु हुँदैन् भन्ने मेरो आँखा छ। प्रधानमन्त्रीज्यूको चीन भ्रमण हुँदै गर्दा यी सबै विषयलाई ध्यानमा राखेर चीनको अधिकतम सहयोग नेपालको हितमा जुटाउने गरी भ्रमण सफल होस् आग्रह गर्न चाहन्छु।’