अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नारायण गोपाल संगीत कोष भवन सबैको पहुँचयोग्य बनाउन उपप्रमुख सुनिता डंगोलको निर्देशन

नारायण गोपाल संगीत कोष भवन सबैको पहुँचयोग्य बनाउन उपप्रमुख सुनिता डंगोलको निर्देशन


काठमाडौँ-काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले निर्माणाधीन नारायण गोपाल संगीत कोषको भवनको अनुगमन गर्नुभएको छ। अनुगमनको क्रममा उपप्रमुख डंगोलले भवनको संरचना सबैको पहुँचयोग्य हुनुपर्ने बताउनु भयो।

महानगरले निर्माण गरिरहेको भवनको अनुगमनका क्रममा लिफ्ट जडानको योजना नभएको जानकारी पाएपछि उहाँले लिफ्ट जडान गर्न समेत निर्देशन दिनुभयो।

अनुगमन समितिकी संयोजक समेत रहेकी डंगोलले भवनको भित्री संरचना लैंगिकमैत्री बनाउन समेत निर्देशन दिनुभएको हो। उहाँले भन्नुभयो, ‘सार्वजनिक भौतिक संरचना सबैका लागि हुन्। अपांगता भएका व्यक्ति जान नसक्ने भयो भने त्यो अधुरो हुन्छ।भवनभित्रका शौचालय महिला र बालबालिकामैत्री हुनुपर्छ।’

भवन निर्माणका लागि ७ चैत २०८० मा कार्यादेश दिएको दिइएको थियो। यसको निर्माण कार्य आउँदो माघ मसान्तभित्र सम्पन्न गरिसक्नुपर्छ।

भवन करीब रु. २ करोड ८ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको छ। चारतले भवनको भूमिगत र बाहिर गरी १० वटा चारपाङ्ग्रे र ५ वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ स्थल हुनेछ।

इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनको जमिन तला र पहिलो तला कार्यालय प्रयोजनका लागि हुनेछ। दोस्रो तलामा साउन्ड प्रुफ स्टुडियो बनाइनेछ। भवनको बाहिरी स्वरूप परम्परागत नेपाली शैलीको छ।

भूमिगत र जमिन तला बाहिर गरेर १० वटा चारपाङ्ग्रे सवारीसाधन र २० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ। त्यस क्षेत्रमा करिब १ रोपनी जग्गा छ।

उपप्रमुख डंगोलले बुधबार नै वडा-२ स्थित गैरीधाराको सहमति मार्गको अनुगमन समेत गरेकी छन्। यस मार्गमा सडक र ढल मर्मत गर्ने काम भएको थियो। २०७९ वैशाख १५ गते सम्झौता भएको यो काम २०८० को असोज मसान्तभित्र सक्नु पर्ने थियो। यस अवधिमा काम नसकिएपछि २०८१ असोज ३० गतेसम्मका लागि म्याद थपिएको थियो। यसका लागि रु.३७ लाख ३१ हजार रुपैया हो।