अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाका चोमेन्द्र देशकै उत्कृष्ट सिडिओ

झापाका चोमेन्द्र देशकै उत्कृष्ट सिडिओ


काठमाडौं-जिल्ला प्रशासन कार्यालय डडेल्धुरा कार्यसम्पादन मूल्यांकनमा देशकै पहिलो बन्न सफल भएको छ। गृह मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक नतिजामा देशका ७७ जिल्लामध्ये डडेल्धुरा पहिलो बन्न सफल भएको हो।

डडेलधुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने हुनुहुन्छ। झापाका उहाँ गत वैशाखदेखि डडेल्धुरामा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत छन् ।

कार्यसम्पादन सम्झौता र सो सम्झौतामा उल्लिखित सूचकका आधारमा स्वाचालित रूपमा मूल्यांकन हुने प्रणाली (सिपीएएस) मा प्रविष्ट विवरणको मूल्याङ्कनबाट आव २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा डडेल्धुरा पहिलो स्थानमा रहेको हो। २९.५ पूर्णाङ्कमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले २९.०७५ अङ्क ल्याउन सफल भएको छ।

२०६० सालदेखि निजामती सेवामा कार्यरत न्यौपाने २०६३ सालबाट निरन्तर गृह मन्त्रालय मातहतमा सेवारत रहेका छन्।
उहाँ सोलुखुम्बुमा सहायक प्रमुख जिल्ला अधिकारी हुँदै कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए। त्यस्तै, रसुवामा पनि प्रमुख जिल्ला अधिकारी भइसकेका न्यौपानेसँग राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा निर्देशकका रुपमा काम गरेको अनुभव छ।

डडेलधुरामा प्रमुख जिल्ला अधिकारी हुनुअघि न्यौपाने झापामा सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो। मन्त्रालयले मातहतका जिल्ला प्रशासन कार्यालयहरुको कार्य सम्पादनका लागि ६० भन्दा बढी सूचकहरू तयार पारेको थियो।

जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सुरक्षा योजना, कारागारको सुरक्षा, स्थानीय तहमा शान्ति सुरक्षा तथा सेवा प्रवाह, राजमार्ग अवरोधरहित सञ्चालन गर्ने कार्ययोजना निर्माण र कार्यान्वयनका विषयहरू सूचकका रुपमा रहेका थिए। त्यस्तै, अन्तर्राष्ट्रिय सीमा सुरक्षा, मुद्दाहरूको फछ्र्यौट, द्वन्द्वपीडितहरुको राहत वितरण तथा भत्ता वितरण, नागरिकता तथा पासपोर्ट वितरण, राजस्व चुहावट नियन्त्रणका विषय पनि मूल्यांकनको सूचकमा थिए ।

त्यस्तै, उपभोक्ताहित बजार अनुगमन, लागुऔषध नियन्त्रण, विपत जोखिम न्यूनीकरण लगायतका विषय पनि समावेश रहेको गृहमन्त्रालयले जनाएको छ। यी सूचकहरूमा सर्वोत्कृष्ट काम गरेको भन्दै डडेलधुरा जिल्ला प्रशासन कार्यालय पहिलो बन्न सफल भएको न्यौपानेले बताउनु भयाे। उहाँले भन्नुभयो, ‘सबैको सहयोगले जिल्ला प्रशासन डडेल्धुरा देशकै नम्बर वानमा आउन सफल भएको हो।’