अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीनै तहको सरकार मिलेर विकास हुन्छ: मुख्यमन्त्री कार्की

तीनै तहको सरकार मिलेर विकास हुन्छ: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीनै तहका सरकारको सहकार्य र सहअस्तित्वबाट मात्रै विकास सम्भव रहेको बताउनुभएको छ।

आज मोरङको रंगेली नगरपालिकाकाे वडा-३ मा रहेको रत्न माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले स्थानीय, प्रदेश र संघ सरकारको सहकार्य संविधानले नै स्वीकार गरेको चर्चा गर्दै विकासका लागि सबै सरकारको सहकार्य हुनपर्ने बताउनुभयो।

मुख्यमन्त्री कार्कीले शिक्षा क्षेत्रको विकासमा पनि सहकार्य आवश्यक रहेको औल्याउनुभयो। सिमित स्रोत रहेका कारण एक्लैले विकास गर्न सक्ने अवस्था समेत नरहेको उहाँले प्रस्ट्याउनुभयो। अहिले केन्द्र तथा प्रदेशमा नयाँ सरकार आएपछि केही उत्साह देखिएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘अहिलेको सरकार आएपछि केही उत्साह देखिएको छ, अब सबै मिलेर काम गरौँ।’

उहाँले आर्थिक अवस्था खस्किएकोले विकासको काम सोचेजति हुन नसकेको बताउदै भन्नुभयो,’अब प्रदेशले आर्थिक अवस्था सुधार गर्दैछ ,अब काम हुन्छ।’ मुख्यमन्त्री कार्कीले गत वर्षको तुलनामा यो वर्ष प्रदेशमा १८ प्रतिशत राजश्व बढेको बताउनुभयो।

कार्यक्रममा बोल्दै सार्वजनिक लेखा समितिका सभापति तथा मोरङ क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेलले विद्यालय सुधारका लागि समुदाय नै जागरुक हुनु पर्ने बताउनुभयो। उहाँले शिक्षामा सुधार गर्न सरकारले सहयोग गर्ने बताउनुभयो। यस्तै रंगेली नगरपालिकाका मेयर दीलिप बगडियाले बिधालयमा यातायातका लागि बसको व्यवस्था साथै प्रविधिक शिक्षाका लागि सहयोग गर्न प्रदेश सरकार र संघ सरकारसँग माग गर्नुभयो।

मुख्यमन्त्री कार्कीले रंगेली नगरमा भएका अन्य विकास निर्माणका कामको समेत अवलोकन गर्नुभएको थियो। सिंचाइ , कृषि बजार र कृषि भवनको अवलोकन गर्नुभयो।