काठमाडौं-काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलनबारे अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आजदेखि बयान लिने तयारी गरिएको छ।
बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याएर जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएका लामिछानेको बयान जिल्ला सरकारी वकिल कार्यालयमा हुनेछ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्य सहकारी संस्थाको रकम अपचलनमा दोषी देखिएको भन्दै लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। स्वर्णलक्ष्मीकै बचत अपचनलमा यसअघि छबिलाल जोशी र कुमार रम्तेलसँग काठमाडौंमा बयान लिएर कास्की फर्काइएको थियो।
सहकारीको २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको पीडितहरूले दाबी छ। त्यसविरूद्ध जिबी राई, छबिलाल जोशी, रवि लामिछानेविरूद्ध सहकारीका ६४५ बचतकर्ताले जाहेरी दिएका थिए।
२०७८ साउन ४ मा सहकारीबाट गोर्खा मिडिया अध्यक्ष राई र प्रबन्ध निर्देशक लामिछानेले ‘फोर ह्विलर’ गाडी किन्न ४६ लाख ९८ हजार कर्जा लगेको देखिएको छ। गाडी किन्दा लिएको ऋणमध्ये ३२ लाख २१ हजार ६ सय ३३ रुपैयाँ ५१ पैसा तिर्न बाँकी देखिन्छ ।
जिबी राई र रवि लामिछानेका नाममा २०७८ पुस १ मा पनि ‘इको सेभेन सिटर भ्यान’ किन्न भन्दै ४६ लाख ८८ हजार लगेको खुलेको थियो। भ्यान किन्न भनेर लगेको कर्जामध्ये २९ लाख ५२ हजार ४ सय ३६ रुपैयाँ तिर्न बाँकी देखिएको छ।
कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा पुर्याइएका लामिछानेलाई कास्की अदालतले १५ दिनको हिरासत अनुमति दिएको छ। यसबीच बुटवलको सुप्रिम सहकारीको बचत हिनामिनाको बयान रूपन्देहीमा भइसकेको छ।
प्रतिक्रिया