काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान शुरू भएको छ।
कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याइएका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको आजबाट बयान शुरू भएको हो।
शुक्रबार बिहान १० बजेदेखि लामिछानेसँग बयान सुरू भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जानकारी दिए ।बिहान साढे ९ बजेतिर कार्यालयमा ल्याएर १० बजेदेखि बयान सुरू गरिएकाे जनाएकाे हो ।
कार्यालयमा जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र अनुसन्धान अधिकृतहरूले लामिछानेसँग बयान लिइरहेका छन्।
लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि हिजो पोखराबाट काठमाडौं ल्याइएको थियो । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंसिर २ गते लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो।
कास्कीमा लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो। लामिछाने लगायतविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ।
स्वर्णलक्ष्मीकै बचत अपचनलमा यसअघि छबिलाल जोशी र कुमार रम्तेलसँग काठमाडौंमा बयान लिएर कास्की फर्काइएको थियो।
सहकारीको २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको पीडितहरूले दाबी छ। त्यसविरूद्ध जिबी राई, छबिलाल जोशी, रवि लामिछानेविरूद्ध सहकारीका ६४५ बचतकर्ताले जाहेरी दिएका थिए।
प्रतिक्रिया