अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तह उपनिर्वाचन

हेटौँडा उपमहानगरपालिका-१२ मा मतदान सुरु

हेटौँडा उपमहानगरपालिका-१२ मा मतदान सुरु


मकवानपुर-स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका-१२ मा एक वडा अध्यक्ष पदका लागि मतदान सुरु भएको छ। दुई मतदान स्थलमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।

अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट अर्जुनप्रसाद तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी, नेकपा माओवादी केन्द्रबाट रविन प्रधान हुनुहुन्छ।

यसैगरी रास्वपाबाट आशावीर बल, एकीकृत समाजवादीबाट बलराम बल, राप्रपाबाट प्रेम लामा हुनुहुन्छ। सो वडामा उपनिर्वाचनका लागि नौ दलका नौ जना र स्वतन्त्र तीन जना गरी १२ जना उम्मेदवार चुनावी मैदानमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

२०७९ मा वडाध्यक्षमा निर्वाचित माओवादीका ललित घलान जिल्ला समन्वय समिति प्रमुख भएपछि हेटौंडा–१२ मा उपनिर्वाचन हुन लागेको हो।

स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्ने छन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ।