काठमाडौं-छैटौँ एसियन पपुलेसन एशोसिएसन (एपीए) सम्मेलन २०८१ को मंसिर १२ देखि १५ (नोभेम्बर २७ देखि ३० सम्म) काठमाडौंमा सम्पन्न भयो। यस सम्मेलनमा एशियाका २८ भन्दा बढी देशका विज्ञ, नीति निर्माता, र अनुसन्धानकर्ताहरू सहभागी भए। त्रिभुवन विश्वविद्यालयको जनसंख्या अध्ययन केन्द्रीय विभागद्वारा आयोजित यो सम्मेलनले अनुसन्धान प्रस्तुत गर्न, सहकार्यलाई प्रवर्द्धन गर्न, र जनसांख्यिकीय समस्याहरूको दिगो समाधान खोज्नका लागि गतिशील मञ्चको रूपमा काम गर्यो।
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम उद्घाटन गर्दै, जनसंख्या अध्ययनले वृद्धावस्था, आप्रवासन र स्वास्थ्य सेवाजस्ता विश्वव्यापी चुनौतीहरू समाधान गर्नको महत्त्वलाई उजागर गर्नुभयो। उहाँले विश्व जनसंख्या ८ अर्ब नाघेको र १० प्रतिशत मानिस ६५ वर्षभन्दा माथिको भएको उल्लेख गर्दै, यी जनसांख्यिकीय वास्तविकताहरूलाई सम्बोधन गर्न नवीन नीति निर्माण आवश्यक भएको बताउनुभयो। सम्मेलनको विविध कार्यक्रम अन्तर्गत १७ मुख्य विषयहरूमा आधारित २३७ मौखिक प्रस्तुति, १८६ पोस्टर प्रस्तुति र ५९ मौखिक सत्रहरू समेटिएका थिए।
पहिलो दिनः विश्वव्यापी जनसांख्यिकीय चुनौतीहरूमा केन्द्रित
पहिलो दिन प्रधानमन्त्री ओलीको उद्घाटन मन्तव्यले नेपालको जनसांख्यिकीय अनुसन्धानमा बढ्दो भूमिकालाई उजागर गर्यो। मिनेसोटा विश्वविद्यालयद्वारा आयोजित आईपीयुएमएस जनगणना माइक्रोडाटा कलेक्शन कार्यशालाले सहभागीहरूलाई उच्च गुणस्तरीय जनसांख्यिकीय डेटा पहुँच गर्न उपकरणहरूको प्रयोगबारे जानकारी दियो।
सत्रहरूमा इन्डोनेसियामा बालविवाहको स्वास्थ्य पहुँचमा प्रभाव, नेपालको मातृ स्वास्थ्य असमानता, र भारतको तम्बाकू सम्बन्धी मृत्युदरका प्रवृत्तिबारे छलफल भयो। सत्र १.३ ले भारतीय श्रमिकहरूको नेपालमा आप्रवासन र श्रीलङ्काका आप्रवासन नीतिहरूलाई केन्द्रमा राख्दै आप्रवासन शासनबारे बहस गर्यो। साथै, दक्षिण एसियामा शहरीकरणका प्रभाव र एशियाबाट युरोपतर्फका आप्रवासन प्रवृत्तिबारे पनि विचार गरियो।
दोस्रो दिनः पूर्वी एसियाका जनसांख्यिकीय परिवर्तनहरू र लैंगिक असमानता
दोस्रो दिन पूर्वी एसियाका घट्दो प्रजनन दर, बढ्दो जीवन अपेक्षा, र विवाहका बदलिँदो ढाँचाहरूलाई केन्द्रमा राखियो। अनुसन्धानकर्ताहरूले जन्म प्रवर्द्धन नीतिबाट वृद्ध जनसंख्याको सम्भावनालाई उपयोग गर्ने दिशामा सोच्नपर्ने आवश्यकता औंल्याए।
चीनको एक सन्तान नीतिले ल्याएको “विवाह सङ्कट” र इन्डोनेसियामा धार्मिक सन्दर्भभित्र स्वतन्त्र प्रेमलाई परिभाषित गर्ने “हलाल लभ” को वृद्धि महत्त्वपूर्ण थियो। इरानमा शिक्षा र समानतावादी दृष्टिकोणले विवाहमा ढिलाइ गरेको देखियो भने जापानमा वृद्ध जनसंख्याका कारण जेरियाट्रिक हेरचाहको चासो बढ्यो।
स्वास्थ्य सेवामा लैंगिक असमानता प्रमुख विषय बन्यो। अनुसन्धानकर्ताहरूले परिवार–केन्द्रित गर्भनिरोधक निर्णय, मातृ स्वास्थ्य सेवा सुधार, र स्वास्थ्य असमानता अन्त्य गर्न लैंगिक-सम्वेदनशील नीति निर्माणको पक्षमा बहस गरे।
तेस्रो दिनः जलवायु परिवर्तन र जोखिममा परेका समुदायहरू
तेस्रो दिन जलवायु परिवर्तनले जनसांख्यिकीय गतिशीलतामा पार्ने प्रभावलाई उजागर गरियो। सत्रहरूले कृषि समुदाय र चक्रवातबाट प्रभावित तटीय बस्तीहरूको खाद्य असुरक्षा र स्वास्थ्य जोखिमबारे चर्चा गरे।
दक्षिण कोरियामा वृद्ध जनसंख्या विशेषगरी महानगर क्षेत्रमा चरम गर्मी लहरको जोखिममा परेको देखियो। भारतका ग्रामीण क्षेत्रहरू, ‘स्वच्छ भारत अभियान’का बावजुद, खुला फोहोर व्यवस्थापन समस्याबाट ग्रस्त रहेका कारण सार्वजनिक स्वास्थ्यमा नकारात्मक प्रभाव परेको छ।
भारतमा बाल पोषणबारे छलफल गर्दै बालीको विविधताले बाल पोषणमा सुधार ल्याएको देखियो। शिक्षाको महत्त्व र महिलाहरूलाई सशक्त बनाउन लैंगिक समानताको भूमिकालाई प्राथमिकतामा राखियो।
चौथो दिनः नेपालको जनसांख्यिकीय समस्या
अन्तिम दिन “नेपाल विशेष सत्र“ मा नेपालको जनसांख्यिकीय चुनौतीहरूलाई उजागर गरियो। श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले नेपालको अर्थतन्त्रमा श्रम आप्रवासनको महत्वपूर्ण भूमिकाबारे प्रस्तुत गर्नुभयो। उहाँले जीडीपीको ठूलो हिस्सा ओगट्ने रेमिट्यान्समा निर्भरता र खाडी देशहरूमा नेपाली श्रमिकहरूले भोगिरहेका समस्याहरूलाई विशेष रूपमा उठाउनु भयो।
भण्डारीले स्वदेशी रोजगारी सिर्जना र फर्कने आप्रवासीलाई पुनःएकीकरण गर्न ‘घरेलु रोजगार दशक’ कार्यक्रमको घोषणा गर्नुभयो। उहाँले श्रम आप्रवासन नीतिमा श्रमिक अधिकार, मानव अधिकार, र जलवायु परिवर्तनलाई महत्त्वपूर्ण पक्षका रूपमा सम्बोधन गर्नुपर्ने बताउनु भयो ।
अन्य वक्ताहरूमा राष्ट्रिय तथ्याङ्क कार्यालयका हेमराज रेग्मीले नेपालको प्रदेशहरूमा प्रजनन दरमा देखिएको असमानताको बारेमा चर्चा गर्नुभयो। मधेश प्रदेशको प्रजनन दर उल्लेख्य रूपमा उच्च रहेको तथ्याङ्क प्रस्तुत गरियो। काठमाडौं मेडिकल कलेजका सहप्राध्यापक श्रेयसी अर्यालले जलवायु परिवर्तनले प्रजनन स्वास्थ्यमा पार्ने प्रभावबारे प्रकाश पार्नुभयो। न्युरोलोजिस्ट डा. राजीव ओझाले नेपालमा पार्किन्सन्सजस्ता असंक्रामक रोगहरूको बढ्दो प्रचलनबारे जानकारी दिनुभयो।
लैंगिक समस्याहरू पनि मुख्य विषय रहे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी हिरा कुमारी निरौलाले नेपालले सीईडब्ल्यूडब्ल्यू जस्ता अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू पालना गरे पनि लैंगिक असमानता र हिंसा कायम रहेको बताउनु भयो।
चार दिनको विविध अनुसन्धान
सम्मेलनले शहरीकरणका प्रवृत्ति, मातृ स्वास्थ्य, र जलवायु परिवर्तनका प्रभाव जस्ता विषयहरू समेटेर विविध अनुसन्धान प्रस्तुत ग¥यो। पोस्टर सत्रहरूले अनुसन्धानलाई थप गहन बनायो। विशेष रूपमा, दुसिता फुङसाम्रनले लैङ्गिक तथा अल्पसंख्यक समुदायभित्रको तरल यौन झुकावबारे गरेको अध्ययन र नवराज थापाले नेपालको वृद्ध जनसंख्यामा बहुऔषधिको विश्लेषण प्रस्तुत गरे।
महत्त्वपूर्ण प्रस्तुतिहरूमा मार्टिन कोलक र वेइवेन लईको चिनियाँ पारिवारिक जनसांख्यिकी अध्ययन र फान याङको चीनमा लैंगिक बाल स्याहार भूमिकाबारेको अनुसन्धान समावेश थिए।
जनसांख्यिकीय विश्लेषणमा प्रविधिको प्रयोग
सम्मेलनले एपीआईहरू र र्यान्डम फरेस्टजस्ता मेसिन लर्निङ मोडेलहरूमा आधारित प्रविधिको उपयोगलाई पनि महत्त्व दिइयो। यसले जनसांख्यिकीय डेटा प्रशोधनलाई सहज बनाउँदै निर्णय र नीति निर्माणलाई प्रभावकारी बनाउँछ।
सहकार्यपूर्ण समाधान र नीति सिफारिसहरू
यस सम्मेलनले स्वास्थ्य, आप्रवासन, वातावरण, र नवप्रवर्तनसँग जनसांख्यिकीय गतिशीलताको अन्तरसम्बन्धलाई उजागर ग¥यो। प्रमुख सिफारिसहरूमा आप्रवासी श्रमिकको अधिकार सुधार, मानसिक स्वास्थ्य प्रभावहरूको सम्बोधन, र लैंगिक–उत्तरदायी नीतिहरूलाई प्रवर्द्धन गर्ने समावेश थियो।
एपीए सम्मेलनले अन्तरअनुशासनात्मक सहकार्य र तथ्याङ्क–आधारित दृष्टिकोणको महत्त्वलाई सुदृढ गर्दै एशियाका जनसांख्यिकीय चुनौतीहरूको समाधानका लागि मार्ग प्रस्तुत ग¥यो। सम्मेलनको सफल आयोजना सँगै, नेपालले विश्वव्यापी जनसांख्यिकीय अनुसन्धानको केन्द्रका रूपमा आफ्नो भूमिका अझै बलियो बनाएको छ।
आयोजन समिति संयोजक, प्राडा योगेन्द्र बहादुर गुरुङ
प्रतिक्रिया