काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली द्विपक्षीय विदेश भ्रमणमा चीन गएपछि नेकपा एकालेका केन्द्रीय सदस्य एवं राजनीतिक विश्लेषक गोविन्द थापाले समाजिक सञ्जाल फेसबुकमा अत्यन्तै गम्भीर भएर एउटा भिडियो पोस्ट गर्नुभएको छ।
नेता थापाले भिडियोमा प्रधानमन्त्रीको चीन भ्रमणको चुरो कुरा र अब नेपालबाट युवाले होइन, औद्योगिक उत्पादनले भरिएको विमान नेपालबाट उड्नुपर्छ भन्दै भिडियोमा बताउनुभएको छ।
उहाँले भिडियोमा बताउनुभएको कुरा जस्ताको तस्तै
अहिले म भरखरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्कंदैछु। प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणका लागि बिदाइ र शुभकामनाका लागि गएको थिएँ।
विमानस्थलमा प्रधानमन्त्री ओलीलाई बिदाइ गर्दैगर्दा मेरो मनमा अनेक कुरा खेल्यो। फर्कंदा बाटोमा फर्कदो देशको भविष्य, दक्षिण एसियाको राजनीति र विश्व राजनीतिको बारेमा अनेकौं कुरा खेल्यो। त्यसैले यो भिडियो मार्फत् म प्रस्तुत भएको छु।
प्रधानमन्त्रीको यसपटकको चीन भ्रमण असाध्यै अनौठो छ। नेपालको इतिहासमा कहिल्यै नभएको घटना यो भ्रमणको सेरोफेरोमा भएको छ। के-के अनौठो भयो भन्ने म दुई/चार कुरा बताउँछु।
पहिलो: अनौठो के हो भने नेपालको आधुनिक इतिहासमा कुनैपनि प्रधानमन्त्रीले पहिलो द्धिपक्षीय विदेश भ्रमण भारतको नगरेर चीनको गरेको यो पहिलो घटना हो।
दोस्रो: अनौठो के भने नेपालको इतिहासमा प्रधानमन्त्री ओलीको द्धिपक्षीय भ्रमणको विषयमा राष्ट्रिय राजनीतिका मुख्य दुई पार्टी नेकपा एमाले र नेपाली कांग्रेस एकढिका भएर एक ठाउँ उभिएको यो पहिलो घटना हो।
तेस्रो: अनौठो के भने नेपालका कुनै पनि प्रधानमन्त्रीको भारत या चीन भ्रमणका बेला देशभित्र राजनीतिक मुद्दाका बारे मात्र बहस हुन्थ्यो, भ्रमणमा जाने प्रधानमन्त्री के गुमाएर फर्कन्छ भन्ने चिन्ता हुन्थ्यो। विगतमा केपी ओली प्रधानमन्त्री भएको बेला उहाँले गरेको भ्रमणमा मात्र हो, नेपालले के गुमाउँछ भन्ने चिन्ता भएन। नत्र भने नेपालका प्रधानमन्त्रीहरुले खासखास देशको द्धिपक्षीय भ्रमणमा गुमाएर मात्र फर्कन्थे।
यसपटक प्रधानमन्त्री ओलीको चीन भ्रमणमा नेपालले के गुमाउँछ भन्ने कुनै चिन्ता देखिएको छैन। बरु, नेपालले के-के पाउँछ भन्ने चासो मात्र देखिन्छ। नेपालको विकास र समृद्धिका लागि चीनले कसरी सघाउँछ भन्ने चासो अहिले सर्वत्र छ। नेपालको पहिलो र परम आवश्यकता भनेको औद्योगिकरण हो। नेपालको औद्योगिकरणमा चीनले कसरी सघाउँछ र औद्योगिकरण सम्बन्धमा प्रधानमन्त्री ओलीले कस्तो सहकार्य गर्नुहुन्छ भन्ने जनचासो छ। अर्थात्, पाउने गरी प्रधानमन्त्री जानुभएको छ, देशको हित र स्वार्थलाई सर्वोपरी बनाएर प्रधानमन्त्री चीन जानुभएको छ।
चीनसँग नेपालको विवादको राजनीतिक एजेण्डा कुनै छैन। चीनसँग साच्चै भन्ने हो भने नेपालको कुनै पनि विवाद छैन। त्यसैले चीन भ्रमणका बेला राजनीतिक एजेण्डामा नेपालभित्र चर्चा र बहस हुने गरेको छैन।
केपी ओलीको चीन भ्रमणको सेरोफेरोमा एउटा प्रसंगले भने सारा नेपाली लज्जित भएका छन्। नेपालको स्वतन्त्रता र स्वाभिमानमा ठेस पुराउने प्रयास भएको छ। यस्तो प्रयास देशभित्रैबाट भएको हो। त्यो घटना के भने चीनसँग ऋण लिन पाइँदैन, अनुदान मात्र लिनुपर्छ भनेर प्रोक्सी पात्रहरुले अभियान नै चलाए। कुनै पनि सार्वभौम र स्वाभिमानी देशले ऋण नलिने, अनुदान मात्र लिने भन्न सुहाउँदैन। यो लाजमर्दो कुरा हो। ऋण र अनुदानमा के फरक छ भन्ने तपाईंहरुले बुझ्नुभएकै छ। ऋण भनेको ऋण हो, पछि तिर्ने हो। अनुदान भनेको भिख मागेजस्तो हो । कुनै देशले तिमीलाई यस्तो अनुदान दिन्छु भन्छ भने सहयोग हो। त्यसो नभएर हामी ऋण लिँदै लिँदैनौं, तिमीले हामीलाई तिर्न नपर्ने गरी सहयोग दिनुपर्छ भन्नु भनेको भिख माग्नुजस्तो हो।
यो भ्रमणमा के-के उपलब्धी हुन्छ भन्ने अहिले नै म भविष्यवाणी गर्दिनँ । भ्रमण सकेर प्रधानमन्त्री फर्कनुभएपछि उपलब्धी बारे म अवश्य चर्चा गर्नेछु।
प्रधानमन्त्री ओलीको चीन भ्रमण यस्तो बेला भइरहेको छ जतिबेला विश्व राजनीति असाध्यै तातिएको छ। जताततै युद्धको अवस्था सिर्जना भएको छ। आणविक युद्ध नै होला कि भन्ने चिन्ताले विश्व ग्रस्त छ। शक्ति राष्टहरुले एकआपसमा अनेक धम्की दिइरहेका छन्। मुख्यगरी अमेरिकाले अहिले नै विश्वयुद्ध गराउने हो कि भन्ने त्राश बढेको छ। विश्वयुद्ध नै नगराए पनि ठूलो युद्धमा विश्वलाई धकेल्ने प्रयास भइरहेको छ। विश्व राजनीतिको प्रमुख खेलाडि चीन हो र त्यो चीन देशमा हाम्रा प्रधानमन्त्री जानुभएको छ।
तपाईंहरुलाई थाहै छ, चीनलाई घेर्ने अमेरिकी रणनीति छ।
आउँदो जनवरी २० तारेखबाट अमेरिकामा डोनाल्ड ट्रम्प औपचारिक रुपमा राष्टपति बन्ने हो। राष्टपति बनेपछि आफू चीन विरुद्ध केन्द्रीत हुने ट्रम्पको घोषणा छ। अमेरिकाको चीन घेर्ने रणनीति कार्यान्वयन गर्न नेपाल महत्वपूर्ण राष्ट हो। यो कारण नेपालमा अमेरिकी चासो र उपस्थिति बढेको बढ्यै छ। नेपालको विकास, निर्माण, नेपालको औद्योगिकरण, नेपालको समृद्धिका लागि अमेरिकी चासो र उपस्थिति बढेको थियो भने हामी खुसी हुन्थ्यौं। तर, अरुका विरुद्ध नेपाललाई प्रयोग गर्ने रणनीति अनुसार अमेरिका सक्रिय छ। यसकारण पनि प्रधानमन्त्रीको चीन भ्रमणको गम्भीर महत्व छ।
विश्व राजनीति अति जोखिमपूर्ण बनेको छ। बलिया देशले कमजोर देशलाई अरु विरुद्ध प्रयोग गर्ने काम भइरहेको छ। नेपाल कसैबाट प्रयोग हुनु हुँदैन। नेपालको कोही पनि सत्रु छैन, मित्र मात्र छ। यो मान्यता प्रधानमन्त्री केपी ओलीले राख्नुहुन्छ। तसर्थ, उहाँको चीन भ्रमणमा पनि यही विचार मुखरित हुने विश्वास लिन सकिन्छ।
अन्तर्राष्ट्रिय राजनीति बाहिरबाट हेर्दा जस्तो देखिन्छ, भित्र अर्कै हुन्छ। कुनै पनि देशमा आन्तरिक एकता राम्रो भयो भने विश्व राजनीतिमा दह्रोसँग खुट्टा टेक्न सकिन्छ र राष्टिय हित गर्न सकिन्छ। नेपालको आन्तरिक एकता खल्बलाउन अनेक कोणबाट प्रयत्न हुँदै आएको छ। अहिलेकै प्रसँगमा पनि हामीले के देख्यौं भने चीन भ्रमण अघि नै सरकार ढाल्न सकिन्छ कि भनेर कैयनले प्रयास गरे। चीन सँगको सम्बन्ध र बिआरआईको प्रसंगमा एमाले र कांग्रेसको सहमति हुन नदिने अनि त्यही बहानामा सरकार ढाल्ने प्रयास नभएको होइन। चीनसँगको सम्बन्धबारे कांग्रेस र एमालेको विचार बाझोस् भनेर धेरैले भाकल गरेका थिए। एकजना पूर्व प्रधानमन्त्रीले त नेपाल चीन सम्बन्ध बारे भारतीय मिडियामा विष वमन गरेको पनि देख्न पाइयो।
चीनसँगको सम्बन्धबारे एमाले र कांग्रेसको साझा विचार बन्नु भनेको असाधारण घटना हो। यसले नेपालको विदेश नीति कार्यान्वयनमा कोषे ढुंगाको काम गर्नेछ। नेपालका मुख्य राजनीतिक शक्तिहरुलाई आपसमा फुटाएर स्वार्थ सिद्ध गर्ने काम गर्दै आएका विदेशी शक्तिहरु प्रधानमन्त्रीको चीन भ्रमणबाट इन्तु न चिन्तु बनेका होलान।
औद्योगिकरण, विकास र समृद्धिका दृष्टिले विश्वकै उदाहरणीय र सबैभन्दा सफल देश चीनको भ्रमणबाट हाम्रा प्रधानमन्त्री फर्कनुभएपछि केके अपेक्षा गर्ने ? यसको विविध पक्ष हुनसक्छ।
प्रधानमन्त्री ओली एअरपोर्टमा प्लेनबाट झर्दै गर्दा, प्रधानमन्त्रीको पाइलाले नेपाली धरती टेक्दै गर्दा त्यसपछि नयाँ युग आउने अपेक्षा गर्नैपर्छ। प्रधानमन्त्री फर्किएपछि नेपालबाट विदेश उड्ने प्लेनमा नेपाली युवाहरुको संख्या घट्दै जानुपर्छ। नेपाली युवाले भरिएको विमान होइन, नेपाली औद्योगिक उत्पादनले भरिएको विमान विदेश उड्ने दिन आउनुपर्छ। यस्तो सपना देख्ने राजनेता नेपालमा केपी शर्मा ओली मात्र हो र यस्तो सपनालाई विपनामा परिणत गर्ने क्षमता केपी शर्मा ओलीमा मात्र छ। यो कारण पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई नेपाली जनताले असाधारण घटनाका रुपमा लिएका छन्।
हस् त यो चर्चा यति नै, प्रधानमन्त्री स्वदेश फर्कनुभएपछि फेरि तपाईहरु समक्ष उपस्थित हुनेछु। धन्यवाद।
प्रतिक्रिया