बेइजिङ-चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबिचको दुई पक्षीय वार्तापछि मंगलबार दुवै प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न ९ वटा विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज बिहान ग्रेट हल अफ पिपलमा भएको भेटवार्तापछि ९ वटा महत्त्वपूर्ण दस्तावेजमा हस्ताक्षर तथा पत्र आदानप्रदान गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लीले ग्रेट हल अफ पिपलमा स्वागत गर्नुभएको थियो। प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो। समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए। त्यसपछि दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता र त्यसपछि हस्ताक्षर समारोह भएको हो ।
प्रधानमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता तथा हस्ताक्षर कार्यक्रमपछि परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ढकालले ९ वटा सहमति तथा समझदारी पत्रमा हस्ताक्षर तथा पत्र आदानप्रदान भएको जानकारी दिनुभयो।
उहाँका अनुसार, टोखा-छहरे सुरुङमार्गको पत्रको आदानप्रदान भएको छ। नेपाल–चीन व्यापारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। नौतले वसन्तपुर दरबार पुनःनिर्माण प्रमाणपत्रको आदानप्रदान गरिएको छ।
थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात प्रोटोकल, विकास योजनासम्बन्धी समझदारीपत्र र आर्थिक तथा प्राविधिक सहयोग समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा दुवै पक्षले हस्ताक्षर गरी सहकार्य अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।
द्विपक्षीय वार्ताका क्रममा कनेक्टिभिटी, पूर्वाधार विकास, औद्योगिक विकास, मेडिकल कोअपरेसन, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, विपद व्यवस्थापन, जनता जनता सम्पर्क, गरिबी निवारण लगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको ढकालले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘यस द्विपक्षीय वार्ताले नेपाल र चीनबीचको सम्बन्धलाई अझ उचाइमा लैजान योगदान गर्नेछ।’
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल सोमबार चीनको औपचारिक भ्रमणका लागि बेइजिङ पुगेको हो । भ्रमण दलमा प्रथम महिला राधिका शाक्य परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सङ्घीय सांसद्हरु, मुख्यसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत छन्।
प्रतिक्रिया