अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक सञ्जालको नियमन जरुरी छ: मन्त्री गुरुङ

सामाजिक सञ्जालको नियमन जरुरी छ: मन्त्री गुरुङ


काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधकको रुपमा देखा परेको बताउनु भएको छ।

आज काठमाडौंमा आयोजित ‘डिजिटल सुरक्षाको लागि सहयोगी दृष्टिकोण’नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जालले समाजमा सद्भाव भत्काएर दुर्भाभवना फैलाउने प्रयत्न गरिराखेको भन्दै यसको रोकथाम जरुरी रहेको बताउनु भएको हो।

मन्त्री गुरुङले भन्नुभयो, ‘सामाजिक सञ्जाल सकेसम्म मर्यादित बनाउनुपर्छ। व्यवस्थित बनाउनुपर्छ। सद्भाव भत्काएर दुर्भाभवना फैलाउने काम प्रयत्न गरिराखेको छ। यो चिज चाहिं हाम्रो विकासको लागि बाधक छ। हाम्रो आईटी क्षेत्रको विकासकै लागि पनि यो बाधक छ। यसबाट पनि चुनौतीहरु बढेको छ। अपराधहरु बढेको छ। यसलाई रोकथाम गर्नुपर्छ।’

मन्त्री गुरुङले सामाजिक सञ्जालको सुरक्षित सञ्चालनको लागि सरकार सँधै सकारात्मक रहेको स्पष्ट पार्नुभयो। उहााले भन्नभयो, ‘सामाजिक सञ्जालको सुरक्षित सञ्चालनको लागि सरकार सधैं सकारात्मक छ। तथापि, नेपालको प्रचलीत कानून ऐनको कार्यविधि विपरित गएर सञ्चालन हुन नदिने विषयमा समेत सरकार सचेत छ।’

मन्त्री गुरुङले देशमा अहिले सामाजिक सञ्जाल अराजक बन्दै गइरहेको टिप्पणी गर्नुभयो। सांस्कृतिक सहअस्तित्वको नमूना देशलाई खलबल्याउने काम सामाजिक सञ्जालबाट भएको भन्दै यसको नियमन गर्न आवश्यक रहेको उनको भनाई छ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशमा, समाजमा अहिले अराजक भनेकै सामाजिक सञ्जाल रहेको छ। हामी भन्छौं नि दही जस्तै जमेको विविधतामा एकता भएको बाँधिएर बसेको हाम्रो समाज भनेर। सांस्कृतिक सहअस्तित्वको नमुना देश नेपाल तर आज सामाजिक सञ्जालको गलत प्रयोगले दही जस्तो देशमा कागती निचोर्ने काम भएको छ। त्यसैले सामाजिक सञ्जालको नियमन एकदमै जरुरी छ।’