काठमाडौं-सभामुख देवराज घिमिरेले सरकारले आफ्नो आवश्यकतालाई हेरेर मात्रै कानुनमाथि छलफल गर्ने परिस्थितिको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ।
मङ्गलबार ललितपुरमा भएको सभामुखसहित समिति सभापतिहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो।
सभामुख घिमिरेले संसद् कानुन बनाउने थलो भए पनि वर्तमान संसद्ले कानुन बनाउन नसकेको स्वीकार गर्नुभयो। उहाँले संसदमा कानुन ल्याउँदा सरकारले आफ्नो आवश्यकता, अध्ययन, बुझाइबाट ल्याउने र त्यही आधारमा संसदमा छलफल गर्ने स्थिति रहेको भन्दै त्यसलाई अन्त्य गर्न जरुरी रहेको उल्लेख गर्नुभयो।
सभामुख घिमिरेले सरकारले कानुन उत्पत्ति गर्दै सांसदहरूको सहभागिता बनाउने प्रबन्ध गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले आगामी संसद् अधिवेशन कहिले बोलाउने भन्ने विषय संसदहरुको भूमिकामा निर्भर हुने बताउनु भयो । उहाँले अहिले सांसदहरू नै संसद् अधिवेशनको लागि तयार नदेखिएको बताउनु भयो।
उहाँले भन्नुभयो, ‘आगामी संसद अधिवेशन कहिले बोलाउने भन्ने विषयमा पनि संसदहरूको भूमिकामा निर्भर हुन्छ र हुनुपर्छ। तर सांसदहरू नै त्यो तयार छैनौं। संसदमा पेस भएका विधेयकहरूलाई फुल हाउसमा लैजाने गरी तयारी गरी संसद अधिवेशन छिटो बोलाउन दबाब दिनसक्छौं। सरकारले बोलाउनु पनि हुन्छ।’
सभामुख घिमिरेले संसद्को गरिमा उच्च रहेको र सांसदको भूमिका महत्त्वपूर्ण रहेको भन्दै सांसदहरूले संसद्लाई कम ठानेर नलाग्न संसदहरुलाई आग्रह गर्नुभयो । उहाँले सांसदहरूले आफ्नो उचाइबाट सरकारलाई हेर्न सक्नुपर्ने बताउनुभयो।
प्रतिक्रिया