अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेलाई राति नै पोखरामा पुर्‍याइयो

रवि लामिछानेलाई राति नै पोखरामा पुर्‍याइयो


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई गएराति पोखरामा पुर्‍याइएको छ। 

सहारा चितवन सहकारी ठगी प्रकरणमा चितवन प्रहरीले सरकारी वकिलसमक्ष बयान लिइसकेपछि प्रतिनिधि सभा सदस्यसमेत रहेका रविलाई गएराति नै पुनः कास्की जिल्ला प्रहरीको हिरासतमा लगिएको हो।  

सरकारी वकिलको कार्यालय चितवनमा बुधबार राति साढे ९ बजे बयान सकिएपछि रविलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा लगिएको थियो। त्यसपछि रविलाई गाडीमार्फत पोखरा पुर्‍याइएको हो। 

पोखराको सूर्यदर्शन सहकारी ठगीअन्तर्गत संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको मुद्दामा कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीबारे बयान लिन यही मंसिर १३ गते काठमाडौँ ल्याइएको थियो। 

कालीमाटी मुख्य कार्यालय राखेर काठमाडौँका विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालन गरेको स्वर्णलक्ष्मीको बचत गैरकानुनी रूपमा परिचालन र ठगीमा संलग्न रहेको आरोपमा रविसँग काठमाडौँ प्रहरीले मंसिर १४ देखि १७ गतेसम्म राखेर ३ दिन बयान लिएको थियो।

यसपछि रविलाई मंसिर १८ गते (मंगलबार) बिहानै चितवन पुर्‍याइएको थियो। त्यहाँ जिल्ला सरकारी वकिल कार्यालय, चितवनका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको रोहवरमा जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत ज्ञानकुमार महतोले रविसँग मंगलबार र बुधबार गरी २३ घण्टा बयान लिएका थिए ।

लामिछानेलाई पुन म्याद थप गरेपछि पर्सा लैजाने प्रहरीको तयारी छ।  लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध पर्साबाट सिन पक्राउ पुर्जी जारी भएको छ।

सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ। जीबी राई समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो। लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा उनले खर्च गरेका थिए। सोही आधारमा उनी अनुसन्धानको दायरामा तानिएका हुन् ।