काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले १८ महीना सरकार चलाएपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने स्पष्ट पार्नुभएको छ।
जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीले ‘के अब तपाईंको प्रधानमन्त्रीको कार्यकाल लम्बिएको हो ?’ भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओली भन्नुभयो, ‘१८ महीना सरकार चलाएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्छु ।’
कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गरेपछि २०८४ सालको चुनावसम्म देउवाले नै सरकार चलाउने प्रधानमन्त्री ओलीले बताउनु भयो । २०८४ को चुनाव पनि देउवाजीले नै गराउने उहाँले बताउनु भयो । प्रधानमन्त्री ओली दुई दलीबीच २०८४ सालको चुनावसम्म सहमति भएको बताउनुभयो।
प्रधानमन्त्री ओली भन्नुभयो, ‘यही प्रश्नको जवाफ मैले कति पटक दिने ? १८ महीनासमम्म म सरकार चलाउछु। त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई नै हस्तान्तरण गर्छु। उहाँले डेढ वर्ष चलाउनुहुन्छ। चुनाव पनि देउवाजीले नै गराउनुहुन्छ। हाम्रो २०८४ सालकाे चुनावसम्म सम्झौता भएको छ। हामी सबैले बहुमत ल्याउने कोसिस गरौँला। बहुमत आउँछ भन्ने हामीलाई विश्वास छ। हरेकलाई विश्वास छ, अब के गर्ने ? विश्वासअनुसार बहुमत आयो भने बहुमतको सरकार बन्ला । आएन भने अरु तरिकाहरु होलान्।’
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मङ्सिर १७ गते प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। सो चीनको औपचारिक भ्रमण पूरा गरी बेइजिङबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडानमा प्रधानमन्त्री ओली आज फर्किनु भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखहरूले स्वागत गर्नुभयो।
बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो। त्यही क्रममा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौताहरु भएका छन्। दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन्। यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान भएको छ। यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको छ।
यस्तै, विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ। भ्रमणका अवसरमा स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। यसै अवसरमा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौता भएका छन्।
सन् २०२५ मा चीनबाट धेरै पर्यटक नेपाल भित्र्याउनेबारे पनि दुई शीर्ष नेताबीच कुराकानी भएको जनाइएको छ। यसैबीच, प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ। चिनियाँ प्रधानमन्त्रीले समय मिलाएर नेपालको भ्रमणमा आउने प्रतिवद्ध जनाउनु भएको छ।
प्रधानमन्त्री ओलीले बेइजिङमा बुधबार आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको थियो।
प्रधानमन्त्री ओलीले बुधबार नै चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित संग्रहालय अवलोकन र पेकिङ विश्वविद्यालयमा सम्बोधन समेत दिनुभएको थियो।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत हुनुहुन्थ्यो।
प्रतिक्रिया