काठमाडौं-शिक्षकहरुलाई खुशीको खबर अब चौमासिक होइन, मासिक रुपमै तलब भत्ता बुझ्न पाउने भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरुलाई हरेक महिना मासिक तलब भुक्तानी गर्न ७५३ वटै पालिकामा परिपत्र गरिएको हो।
यसअघि चौमासिक रूपमा तलब भत्ता पाउँदै आएका शिक्षकलाई अबदेखि हरेक महीना तलब दिने निर्णय २०८१ मंसीर १७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो।
सामान्य प्रशासन मन्त्रालयको परिपत्रमा भनिएको छ, ‘शिक्षा ऐन, नियमावली तथा प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थाबाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा कार्यार्थ पठाइएको छ। त्यसअघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई शिक्षकको तलब भत्ता मासिक भुक्तानीका लागि सबै पालिकामा पत्राचार गरिदिन भनेको थियो।
शिक्षक महासंघ लगायत विभिन्न शिक्षकका संघ, संगठनले विगत देखि नै शिक्षकलाई मासिक रुपमा तलब उपलव्ध गराउन माग गर्दै आएका थिए। तर कतिपय स्थानीय सरकारले शिक्षकलाई मासिक तलब नदिएको गुनासो आएपछि शिक्षा मन्त्रालयले संघीय मन्त्रालयलाई पत्र लेख्दै यस्तो अनुरोध गरेको हो।
यस अघि शिक्षामन्त्री विद्या भट्टराईले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमाफर्त ७५३ वटै शिक्षकलाई मासिक तलब खुवाउन संघीय मन्त्रालयलाई पत्र पठाएर अनुरोध गर्नुभएको थियो। शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकले तलब नपाउँदा विद्यार्थीको सिकाइ प्रभावित भएको समेत बताउनु भएको थियो।
प्रतिक्रिया