अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष ध्यान दिन्छौं: मुख्यमन्त्री कार्की

बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष ध्यान दिन्छौं: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले बालबालिकाको सर्वाङ्गीण विकासका लागि/विशेष ध्यान दिने बताउनुभएको छ।

पूर्वाञ्चल विश्वविद्यालय कला सङ्कायको आयोजनामा नेपालमा प्रारम्भिक बाल विकास इकोसिस्टम परिकल्पना विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले आजका बालबालिका भोलिका मुलुकका कर्णधार भएकाले उनीहरुको विकासका लागि राज्यले बनाउने नीति तथा कानुन निर्माणमा आवश्यक सुझावका लागि विज्ञहरुसँग आग्रह गर्नुभयो।

उहाँले विगतमा राजनीतिक अस्थिरिताका कारण बालबालिकाको विकासका लागि निर्माण गरेको कानुन कार्यान्वयनमा समस्या उत्पन्न भएको धारणा व्यक्त गर्नुभयो। मुख्यमन्त्री कार्कीले विगतमा आफूले विद्यालयका युवालाई देश सेवा, अनुशासित बनाउन, दुव्र्यसनीबाट टाढा राख्न दुई हजार विद्यालयमा सगरमाथा टिन्स क्लबमार्फत कार्यक्रम सञ्चालन गरेको स्मरण गर्नुभयो । उहाँले सम्मेलनमा निस्कने निष्कर्ष सरकारका लागि पथपर्दशक हुने भएकाले उपलब्ध गराउन आग्रह गर्नुभयो।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले बालबालिकालाई असल नागरिक निर्माणमा सरकार सम्वेदनशील रहेको विचार राख्नुभयो। उहाँले कार्यक्रमबाट निस्केको निचोडले बालबालिकाको विकासको नीति, योजना र कार्यक्रम बनाउन सहयोगी हुने टिप्पणी गर्नुभयो।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा विजुकुमार थपलियाले यस प्रकारको कार्यक्रमलाई भविष्यमा निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। प्राध्यापक करेन ग्राहम, चिरश्री घोष, डा. मिनाक्षी दाहाल,  डा.अरुण उप्रेतीले प्रारम्भिक बाल विकास र यसको इकोसिस्टमका विषयमा मन्तव्य राख्नुभएको थियो।

विभिन्न चार वटा सत्रमा प्रारम्भिक बाल विकास इकोसिस्टमको विषयमा अनुसन्धानात्मक लेखहरूको प्रस्तुति र छलफल भएका छन्। सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, मालदिभ्स, अमेरिका, बेलायतलगायत तीन सयभन्दा बढीको सहभागिता छ ।

सम्मेलनमा प्राध्यापक, शिक्षक, अनुसन्धाता, विषयविज्ञ, चिकित्सक, विद्यार्थीलगायत सहभागिता रहेको कला सङ्कायका डिन डा अनिलकुमार पोखरेलले जानकारी दिनुभयो । सम्मेलनमा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाको हेरचाह, बालविकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेसागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव, बालबालिकाको पोषण तथा यसले बाल विकासमा पारेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन आदि विषयमा ४० भन्दा बढी सहभागीहरुले आफ्नो अध्ययन अनुसन्धान प्रस्तुत गर्ने कार्यक्रम रहेको डीन  पोखरेलले जानकारी दिनुभयो ।