विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास र सम्वृद्धिका लागि पर्यटन नै मुल आधार भएको बताउनुभएको छ।
आज विराटनगरमा आयोजित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले पर्यटनबाट नै विकासको कायापलट गर्न सकिने बताउनुभयो। प्रदेशको सामथ्र्य, पहिचान र विकास नै पर्यटन भएको बताउँदै उहाँले भन्नुभयो, ‘यसबाट सम्वृद्धि हासिल गर्न सकिन्छ।’
पर्यटनबाट विकास सम्वृद्धि हासिल गर्न सकिने भएकाले विरोध र कालोझण्डा देखाउने काम बन्द गरेर पर्यटन विकासमा लाग्नु पर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘अब वार्ता र संवादबाट सबै कुरा हल गर्दै पर्यटन प्रर्वद्धनमा लागौँ।’
सो कार्यक्रममा स्वीस सरकारकी राजदूत डा. डेनियल म्युउल्यी (Dr. Danielle Meuwly ) ले पदमार्गमार्फत आर्थिक उन्नति, रोजगारी र अवसरहरु खोजी हुने बताउनुभयो। उहाँले संघीयतालाई बलियो बनाउनका लागि स्वीस सरकार नेपाल सरकारसँग हातेमालो गर्दै अघि बढेको बताउनुभयो।
कोशी प्रदेशमा पर्यटनको नयाँ सम्भावनालाई ध्यानमा राखेर स्वीस सरकारको सहयोगमा २०८५ साल साउन सम्ममा परियोजना सक्ने गरी पदमार्गमा आधारित पर्यटन विकास आयोजना सुरु गरिएको हो।
स्वीस सरकारको १ अर्ब ३५ करोड १५ लाख, कोशी प्रदेश सरकारको ४५ करोड ८७ लाख, कोशी प्रदेशका २९ वटा स्थानीय तहको ४४ करोड ६७ लाख र नेपाल सरकारको १९ करोड ९२ लाख गरेृर परियोजनाको लागत २ अर्ब ४५ करोड ६१ लाख रहेको छ। यो परियोजना अन्र्तगत चियाबारी पदमार्ग (इलाम फिक्कल श्रीअन्तु ), फाल्गुनन्द पदमार्ग (फिदिम, छिन्ताप्पु, सन्दकपुर, माइपोखरी, इलाम ) लालीगुराँस पदमार्ग ( तुम्लिङटार, खादबारी, नुम गुफा पोखरी, बसन्तपुर, जलजले, तीनजुरे, मिल्के) र मुन्धुम पदमार्ग (तावाभञ्ज्याङ, ट्याम्केडाँडा, चखेवा, डालसिंगे, धोत्रे, जलजले, हाँसपोखरी, मयुङ्डाँडा) रहेका छन्। कोशी प्रदेश सरकारका अनुसार यो पदमार्ग परियोजनाले कोशी प्रदेशको सम्वृद्धि र विकासका लागि सहयोग पुग्ने छ।
कोशी प्रदेश सरकारका वन वातावरण तथा पर्यटनमन्त्री सदानन्द मण्डलले यो परियोजनाले कोशी प्रदेशको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। स्वीस सरकारले कोशी प्रदेश सरकारलाई २०७६ सालदेखि विभिन्न परियोजनामा सहयोग गर्दै आएको छ।
प्रतिक्रिया