दाङ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान संशोधनको काम डेढ वर्षपछि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि अघि बढ्ने बताउनु भएको छ।
दाङको लमहीमा आज नेकपा (एमाले) दाङ निर्वाचन क्षेत्र नम्बर–१ समन्वय कमिटीले आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले संविधान संशोधनको काम उचित समयमा सुरु गरिने बताउनु भएको हो।
महासचिव पोखरेलले भन्नुभयो, ‘हामी दुईटा राजनीतिक दल मिल्नुको कारण सरकार मात्रै होइन। राजनीतिक स्थायित्वको आधार तयार गर्न संविधान र कानूनमा सुधार गर्ने गरी दुई ठूला दलको बीचमा समीकरण बनेको हो। राष्ट्रिय सभामा हाम्रो पक्षको दुईतिहाइ छैन। दुई तिहाइ नपुग्दासम्म संविधान संशोधनको एजेन्डा अघि बढ्न सक्दैन। संविधान संशोधनको विषयमा माओवादीसँग कुरा मिल्ने स्थिति छैन। डेढ वर्ष पछाडि राष्ट्रिय सभाको निर्वाचनपछि त्यहाँको संरचना बदलिन्छ, त्यसपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ।
महासचिव पोखरेलले एमालेलाई आगामी २०८४ को निर्वाचनमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने दिशामा अहिलेदेखि नै सशक्त भएर खट्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
महासचिव पोखरेलले अहिले नेपाली कांग्रेस र एमााले ठूला दुई दल बीचमा सत्ता समीकरण भए पनि यो आगामी निर्वाचनमा पनि मिलेर लड्नका लागि नभएको र दुई दलबीच प्रतिस्पर्धा हुने बारेमा स्पष्ट रहनुपर्ने बताउनु भयो। भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा रुकमपूर्वमा भएको तालमेल सही नभएको भनाइ महासचिव पोखरेलको छ।
‘अहिले हामी कांग्रेससँग मिलेका छौं तर चुनावको बेलामा हामी एक्लाएक्लै लड्ने हो। रुकुमपूर्वमा एमालेको उम्मेदवार कांग्रेसको चुनाव चिन्हमा लड्ने कुरा गल्ती नै हो । त्यसो गर्नु हुँदैनथ्यो। ठाउँ बिशेषमा तालमेल गर्ने कुरा स्थानीय बिशेषताको आधारमा हुन पनि सक्ला तर आफ्नो/आफ्नो चुनाव चिन्हमा लड्नुपर्दछ’, महासचिव पोखरेलले भन्नभयो, ‘एमाले-कांग्रेस जस्ता पार्टी अर्काको चुनाव चिह्नमा आफ्ना उम्मेदवार खडागर्ने कुरा चाहिँ उचित होइन। त्यो गलत हो। रुकुमपूर्वमा साथीहरूले गरेको गल्तीलाई पार्टीले आलोचना गरेको छ। भविष्यमा यसप्रकारको गल्ती हुने छैन।’
महासचिव पोखरेलले उपनिर्वाचनको नतिजाले एमालेलाई कमजोर नभई थप सुदृढ बनाएको बताउनु भयो। उहााले पार्टी नेतृत्वका विरुद्धमा भइरहेका कुप्रचारलाई चिर्ने काममा दृढतापूर्वक उभिन पार्टीका कार्यकर्तालाई आह्वान गर्नुभएको छ। भ्रमपूर्ण सूचनालाई हो कि हो कि भन्ने र बस्ने कि सत्य तथ्य पत्ता लगाउन अघि बढ्ने रु प्रश्न गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘जे जति कुराहरू प्रचार गरिएका छन्, ती सबै भ्रमपूर्ण हुन् । कागले कान लग्यो भनेर कागपछि दौडने कि पहिला कान छाम्ने । पहिला त कान छाम्नुपर्ला नि।’
गिरिबन्धु टि स्टेट, कम्बोडियामा लगानीका विषयहरूमा भ्रम छर्नेहरू अहिले समस्यामा परेको भन्दै उहाँले भ्रमको खेती गर्नेहरूलाई कानूनले दण्डित गर्ने बताउनुभयो।
प्रतिक्रिया