झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिअनुसार नै १८ महिनापछि प्रधानमन्त्री पद नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने स्पष्ट पार्नुभएको छ।
गृहजिल्ला झापाको गौरादह नगरपालिका वडा-४ र ५ मा जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरणको आज शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अहिलेको संयुक्त सरकारले ढुक्कसँग काम गरिरहेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरूका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको छ। जनताका हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु।’
प्रधानमन्त्री ओलीले मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरूले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाएको बताउनु भयाे। उहाँले हल्लाकाे पछि नलाग्न आग्रहसमेत गर्नुभयो।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिअनुसार अबको १८ महिनापछि कांग्रेसका सभापतिलाई सत्ता हस्तान्तरण गर्ने बताउनुभयो।
‘अब १८ महिना सरकार चलाउछु, त्यसपछि नेपाली शेरबहादुर कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु। उहाँले नै चुनाव गराउनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नभयो, ‘हाम्रो गठबन्धन चुनावसम्मका लागि हो।’
साबिक महारानीझोडा गाविसमा चार हजार घरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाइ समाधानको पहल गरेपछि प्रमाणपूर्जा वितरण सुरु हुन सकेको हो।
प्रतिक्रिया