काठमाडौं-सहकारीको रकम अपचलन आरोप अनुसन्धानका लागि हिरासतमा रहेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि पर्सा, वीरगञ्ज पुर्याएको छ। सभापति लामिछानेलाई पोखराबाट आज जहाजमा काठमाडौं हुँदै सिमरा पुर्याइएको र त्यहाँबाट गाडीमा वीरगञ्ज लगिएको हो।
सभापति लामिछानेमाथि ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान चलिरहेको छ। पर्साको सोनोपाइला सहकारी ठगीमा अनुसन्धान गर्न सोमबार त्यहाँ पुर्याइएको हो।
मंगलबार सभापति लामिछानेको बयान गराउने प्रहरी र सरकारी वकिलको तयारी छ। यसअघि आइतबार बेलुका पूर्वडीआईजी समेत रहेका छविलाल जोशीलाई गाडीमा लगिएको थियो। उहाँको सोमबार बयान भएको छ।
जोशीको बयानपछि लामिछानेसँग बयान गराउने तयारी छ।
यसअघि लामिछाने र जोशीमाथि छानबिन गर्न कास्की जिल्ला अदालतले आइतबार ४ दिनको म्याद थप गरेको थियो।लामिछानेलाई गत कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालय काठमाडौंबाट पक्राउ गरी कास्की लगिइएको हो। लामिछानेमाथि अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन, १३ दिन, १५ दिन र आइतबार ४ दिन म्याद थप गरिएको हो।
प्रतिक्रिया