काठमाडौं-एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता-कार्यकर्तालाई सिरियाको उदाहरण दिँदै नेपालमा अब राजतन्त्र कुनै हालतमा फर्किन नसक्ने बताउनुभएको छ।
झापाको बिर्तामोडमा एमालेका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले एउटा क्रान्तिकारी पार्टी भएको बताउनु भयो।
प्रधानमन्त्री ओली भन्नुभयो, ‘सिरियाका शासक भागे, अनि नेपालमा चाहिँ राजतन्त्र ल्याउँछु भनेर एकथरी लागेका छन्, भएकाहरु त भाग्दैछन्, अनि फिर्ता ल्याउने निस्केका छन्। जसरी अब वि.सं. २०६५ साल इतिहासमा फर्किन सक्दैन त्यसैगरी अब राजतन्त्र पनि फर्किन सक्दैन,२०६५ सालमै राजतन्त्रको अन्त्य भइसक्यो। त्यो कुनै हालतमा सम्भव छैन। अब एउटा व्यक्तिलाई कुर्सीमा बसालेर जनता रैति हुन तयार छैन।’ पछिल्लो समय राजतन्त्र फर्काउने भनेर गरिएको हल्ला फण्डाबाजी मात्र भएको उहाँले बताउनुभयो । उहाँले राजतन्त्रको नाममा अराजकता फैलाउन नहुने बताउनुभयो।
एमालेका अध्यक्ष समेत रहेका ओलीले पार्टीका नेता-कार्यकर्तालाई सडकमा जुनसुकै बेलामा उत्रिन तयार रहन निर्देशन दिनुभएको छ। उहाँले भन्नभयो, ‘राजनीति त बिथोलिँदो रहेछ, राजनीति त प्रतिगमनमा सजिलैसित जान सक्दो रहेछ। हामी सजक संगठित र आन्दोलनकारी हुनुपर्छ। कोठामा बसेर ठूला कुरा गर्ने जुलुसमा निस्कन नसक्ने भएपछि कसरी हुन्छ ? हामीले आन्दोलनकारी प्रवृत्ति छाड्न हुँदैन । सडकमा उत्रिन सधैं तयार हुनुपर्छ।’
उहाँले एमालेका विरुद्ध सबै शक्ति केन्द्रित रहेको बताउनुभयो।
प्रतिक्रिया