अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष प्रचण्ड भ्रष्टाचारीका संरक्षक हुन्: प्रधानमन्त्री ओली

अध्यक्ष प्रचण्ड भ्रष्टाचारीका संरक्षक हुन्: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भ्रष्टाचारीको संरक्षक  रहेको आरोप लगाउनु भएको छ।

नेकपा एमाले सम्वद्ध नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज आयोजना गरेको राजनीतिमा प्रतिनिधित्व र पहुँच अभवृद्धिका लागि ‘आदिवासी जनजाति राष्ट्रिय महिला-भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो।

 प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले भ्रमको खेती गरिरहेको तर भ्रष्टाचारीको संरक्षक आफैं रहेको आरोप लगाउनुभयो।

 प्रधानमन्त्री ओलीले माओवादी देशमा आएसँगै ‘जाली, फटाहा, बेइमानी’ सुरु भएको र मान्छेलाई दुःख दिने कुप्रचार गर्ने काम चलेको भनेर टिप्पणीसमेत गर्नुभयो।

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई एमाले र आफ्ना विरुद्ध झुटा भ्रम फिँजाउन सक्रिय रहेको ठोकुवासमेत गर्नुभयो।

प्रधानमन्त्री ओलीले भन्नुभयो भन्नुभयो, ‘माओवादी जुन दिन नेपालमा उदय भयाे, त्यो दिनबाट जाली, फटाहा, बेइमान, कहिले मुद्दा हाल्ने, के गर्ने, मान्छेहरूलाई दुःख दिने, कुप्रचार गर्ने, यो सबै काम माओवादीको नेतृत्वमा भइरहेको छ। नराम्रा कामहरू जति प्रचण्ड महोदयले, नराम्रा कामहरूको नेतृत्व गरिरहनुभएको छ। उहाँहरूको गिरोह सक्रिय छ। अरू होइन, नेकपा एमालेका विरुद्ध सक्रिय छ, त्यसमा पनि मेराविरुद्ध सक्रिय छ। म शिवजीले विष सेवन गरेर कहिले गोसाईंकुण्ड पुग्नुहुन्थ्यो, कहिले कता। म यहीँ काठमाडौँ बसीबसी पिइदिन्छु, पचाइ पनि दिन्छु । जसले जे जे फैलाए पनि त्यसको खण्डन गरेर जाने हो। झुटसँग हामी कहिले पनि टेर्दैनौँ। झुटलाई पराजित गरेर जाने हो। कहिले सबैभन्दा ठूलो भ्रष्टाचारी, देशै लुटेर फेरि एमाले भ्रष्टाचारी, फेरि केपी ओली भ्रष्टाचारी? भ्रष्टाचारीको संरक्षक भएर, भ्रष्टाचारीलाई काँध हालेर कुद्ने हाम्राविरुद्ध लड्न सक्दैनन्। भ्रम फिँजाएर कसरी अविश्वास पैदा गर्ने? मान्छेका मनबाट आस्था कसरी हटाउने? यिनीहरूलाई परेको पीर के हो भने नेकपा एमाले स्थापित भयो, एमालेको अध्यक्ष स्थापित भयो, त्यसकारणले यिनीहरूलाई पीर परेको हो। आफू पनि राम्रो काम गरेको भए त हुन्थ्यो नि !’ 

प्रधानमन्त्री ओलीले देशमा कानुनी शासनको स्थापनाका लागि प्रतिबद्ध रहेको बताउँदै भ्रष्टाचारको अन्त्य गरिने दाबी गर्नुभयो। उहाँले कुनै पनि भ्रष्टाचारीले झुट, बेइमानी वा अन्य गैर कानुनी बाटोबाट उम्किन नपाउने चेतावनी दिनुभयो।