विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किराँत समुदायको महान् पर्व उधौली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री कार्कीले उधौली पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव र सहिष्णुतालाई मजबुत पार्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। उधौली पर्वको अवसरमा शुभकामना सन्देश दिनुहुँदै मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो।
मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा नेपालमा किराँत समुदायले मनाउने महान् पर्व उँधौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् सु–स्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री कार्कीले किराँत समुदायका मूलतः राई, लिम्बु, सुनुवार र याख्खाहरूले उधौली पर्व हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरू गरी १५ दिनसम्म विभिन्न कार्यक्रमहरूसहित किराँत युवायुवती र वृद्धवृद्धासमेत परम्परागत पहिरनमा ढोल र झ्याम्टाको तालमा सामुहिक रूपमा साकेला नृत्य गर्दै मनाउने उल्लेख गर्नुभएको छ।
उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने स्पष्ट पार्दै उहाँले भन्नुभएको छ, ‘यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनुका साथै सह होस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ।’
मुख्यमन्त्री कार्कीले ऋतु परिवर्तनको प्राकृतिक चक्रसँगसँगै आफ्नो जीवनचर्यालाई एकाकार बनाउन अभ्यस्त प्रकृति र पितृपूजक किराँत समुदायको यस चाडले हाम्रो मौलिक साँस्कृतिक परम्परालाई समृद्ध बनाउने बताउनु भएको छ। उहाँले भन्नुभएको छ, ‘धौली पर्वले मानव जीवन र प्रकृतिबिचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै मानव जातिको अस्तित्वको निरन्तरताका लागि प्रकृति र वातावरणको संरक्षण अपरिहार्य रहेको सन्देशसमेत दिएको छ भन्ने मलाई लाग्दछ ।’
प्रतिक्रिया