काठमाडौँ-आगामी २०८४ को आम निर्वाचनमा बहुमत ल्याउने लक्ष्यसहित ‘मिसन-२०८४’ सञ्चालन गरेको एमालेले नयाँ अभियान अघि सारेको छ। एमालेले अब सबैभन्दा सानो प्रशासनिक इकाई वडामा आफूलाई केन्द्रित गर्ने भएको छ।
पार्टी केन्द्रीय सङ्गठन विभागद्वारा हिजो र अस्ति सञ्चालित राष्ट्रिय कार्यशालाले वडाबाटै पार्टीलाई मजबुत बनाउन तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। आगामी माघ देखि चैत महिनासम्म तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गरिने सङ्गठन विभागका सचिव एवं केन्द्रीय सदस्य माधव ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। एमालेले २०७९ को आम निर्वाचन लगत्तै स्थानीय तह केन्द्रित मिसन ग्रास रुट सञ्चालन गरेको थियो। त्यसै गरी गत वर्ष मध्य पहाडका समस्या बुझ्न समाधान गर्न र पार्टीको प्रभव विस्तार गर्न मध्य पहाडी यात्रा आयोजना गरेको थियो।
हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको परिणामपछि पार्टीले स्थानीय इकाइहरुमा नै थप मेहनत गर्नु पर्ने देखिएकोले यस प्रकारको अभियान सञ्चालन गर्ने तयारी गरिएको ढुंगेलले बताउनुभयो। उहाँका अनुसार अभियानको मोडालिटी बारेमा पार्टीको सचिवालयले निर्णय गर्नेछ। देशैभरी रहेका ६ हजार ७ सय ४३ वटा वडामा केन्द्रीय नेताहरुलाई परिचालन गर्ने पार्टीको तयारी छ। कार्यशालाले आधारधुत तहमा नै पार्टीको प्रभाव विस्तार जनताको आकर्षण बढाउन जनतासँग जनसंगठन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यो अभियान पनि विशेषत वडातहमा नै केन्द्रित हुने नेताहरुले जनाएका छन्।
एमालेले गतवर्षको पार्टी सदस्यताको नविकरण आगामी फागुन चैत महिना भित्र सम्पनन गर्ने गरी सबै कमिटीह्रुलाई परिचालन गर्ने भएको छ । यसैगरी पार्टीलाई उच्च प्रविधि मैत्ती बनाउन सबै सदस्यहरुलाई अनलाइन प्रणालीमा सुचिकृत गर्ने भएको छ। पार्टी नेतृत्व र पार्टीका विरुद्ध साइवर हमलामा उत्रिएकाहरुलाई एमालेका सबै कार्यकर्ताहरुले जमेर प्रतिवाद गर्न एमालेले सबै तहका कार्यकर्तालाई निर्देशन पनि गरेको छ । कार्यशालाले राष्ट्रिय स्तरमा युवा महोत्सव पनि गर्ने भएको छ।
प्रतिक्रिया