सुनसरी-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको विकासका लागि प्रदेश सरकारले सदैव सहयोग गर्ने बताउनुभएको छ।
धरान उपमहानगरपालिका–१२ स्थित मेघा हिमालयन कलेजमा आज सुरु भएकोे रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता उद्घाटन गर्दै उहाँले खेलकुद बोर्डबाट हुन सक्ने सबै सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
‘बजेटले मात्र खेलकुदको विकास हुँदैन, व्यवस्थापन सही हुनुपर्छ, नीति तर्जुमा हुनुपर्ने साथै प्रशिक्षकहरु पनि राम्रो हुनुपर्छ, त्यसका लागि हामी सहयोग गर्छौं,’ मुख्यमन्त्री कार्कीले भन्नुभयो।
स्व खेलाडी रेवाहाङ रूछेन्चुङ राईको सम्झानामा विद्यालयस्तरीय तेस्रो यु–१८ धरान मेघा रेवाहाङ मेमारियल अन्तर कलेज बास्केटबल प्रतियोगिता आयोजना गरिएको र प्रतियोगितामा १२ वटा टोली सहभागी रहेको आयोजक मेघा कलेजका अध्यक्ष कैलाश लिम्बूले बताउनुभयो।
विजेता टोलीलाई नगद रु.२५ हजार, उपविजेतालाई नगद रु.१२ हजार पाँच सयसहित ट्रफी, मेडल र प्रमाण प्रदान गरिने प्रतियोगिता संयोजक तथा बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिनुभयो।
प्रतिक्रिया