सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मंगलगढी-काँक्रेविहार सडकको अनुगमन गर्नुभएको छ।
नागरिकहरुले सास्ती खेप्नु परेको गुनासो आएपछि आज मंगलगढी-काँक्रेविहार सडकको अनुगमन गर्नुभएको हो।
निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा अझै पनि धेरै ठाउँमा नागरिकहरुले सास्ती खेप्नु परेको गुनासो आएपछि अनुगमन गरेको मुख्यमन्त्री कँडेलले जानकारी दिनुभयो। मुख्यमन्त्री कँडेलले भन्नुभयो, ‘निर्माण शुरू भएर लामो समयसम्म सम्पन्न हुन नसकेका सडक तथा अन्य योजनाको अनुगमन गर्नु परेको हो।’
अधुरा कामलाई चाडो भन्दा चाडो सम्पन्न गर्ने गरी प्रदेश सरकारले निरन्तर खवरदारी र अनुगमन गरिरहेको मुख्यमन्त्री कँडेलले बताउनु भयो। उहाँले भन्नुभयो, ‘विभिन्न जिल्लामा अलपत्र रहेका आयोजनाहरूको बारेमा चासो लिएर सकेसम्म छिटो काम सम्पन्न गराउने कामलाई मैले अभियानकै रूपमा थालेको छु। निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा अझै पनि धेरै ठाँउहरूमा नागरिकले सास्ती खेप्नु परेको विषयमा आउने गुनासाहरूलाई मैले सकारात्मक रूपमा लिने गरेकोछु।’
अनुगमनको क्रममा आज मगलगढी (काँक्रेविहार सडक) पुगेको मुख्यमन्त्री कँडेलले जानकारी दिनुभयो। उहाँले भन्नुभएको छ, ‘आज मगलगढी (काँक्रेविहार सडक खण्डमा पुगेको थिएँ। धेरै पहिला नै सम्पन्न हुनुपर्ने सो सडकको बाँकी काम पुन: सुचारू भएको छ। निर्माण व्यवसायीबाट अब कामलाई द्रुत गतिमा बढाएर छिटो सम्पन्न गर्ने प्रतिवद्वता आएको छ। आशा गरौ विगतमा भोग्दै आएको सडक सास्तीबाट नागरिकले छिट्टै राहत महसूस गर्ने छन्।’
तस्वीहरुः मुख्यमन्त्री सचिवालय
प्रतिक्रिया