काठमाडौँ-नेकपा एमालेले हालै सङ्गठनात्मक कार्यशाला सम्पन्न गरेको छ। उक्त कार्यशालाले पार्टीलाई थप सुदृढ बनाउन र ‘मिसन-०८४’ मा सफल पार्नका लागि विभिन्न ६ बुँदे सर्कुलर पनि जारी गरेको छ। उक्त कार्यशाला पछि एमालेका नेता तथा कार्यकर्ताको आचरण र व्यवहार कस्तो हुनुपर्ने भन्ने विषयमा बहस सुरु भएको छ। एमालेलाई सुधार गर्न नेताबाट गर्ने कि कार्यकर्ताबाट ? भन्ने बहस पनि अघि बढेको छ। अर्को थरीले नेता र कार्यकर्ता दुवैमा एकै पटक सुधार आए मात्र पार्टी बलियो हुने धारणा राखेका छन्। यसै प्रसङ्गमा पोलिटब्युरो सदस्य एवं काठमाडौँ इन्चार्ज आनन्द पोखरेलले एमालेका नेता तथा कार्यकर्तामा हुने पर्ने १० वटा गुणहरू सार्वजनिक गर्नु भएको छ। प्रस्तुत छ पोखरेलले अघि सार्नु भएका धारणाहरू।
नेपाल कम्युनिस्ट पार्टी एमालेका कार्यकर्ता भनेको के हो कस्ता हुनु पर्छ भनेर बहस चलेको धेरै भयो। आज पार्टीका कतिपय नेता तथा कार्यकर्ताले पार्टीको सिद्धान्त नीति कार्यशैली र जीवन शैली बिर्सिए। कम्युनिस्ट अनुशासन नैतिकता र आचरण बिर्सिए। जनताले एमालेलाई कम्युनिस्ट भनेर चिन्न छाडे भनेर आलोचना र टिप्पणी सुनिन्छ। सङ्गठनमा देखिएका तमाम समस्याको बारेमा केन्द्रीय सङ्गठन विभागले दुई दिने कार्यशाला गरेर ६ बुँदे सङ्कल्प प्रस्ताव पनि पास गरेको। त्यसैको जगमा कार्यकर्ता भनेको के हो भनेर बहस चलाउने प्रयत्न गरेको छु। सकारात्मक रूपमा टिप्पणी र समालोचना गरिदिनु होला।
नेकपा एमाले मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादी सिद्धान्तलाई आत्मासाथ गर्दै श्रमजीवी जनताको राज्यसत्ता कायम गर्ने विचार बोकेको पार्टी हो। पार्टीको राजनीतिक कार्यदिशा प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरी राष्ट्रिय पुँजीको निर्माण गरी समाजवादको आधार निर्माण गर्न कृत संकल्पित छ। कार्यकर्ता सिद्धान्त, विचारधारा र जनताको हितका लागि समर्पित व्यक्ति हो। यस्तो कार्यकर्ता वैचारिक रूपमा दृढ, व्यवहारमा अनुशासित र जनताको समस्यामा प्रत्यक्ष संलग्न रहनुपर्छ।त्यसैले एमालेका नेता तथा कार्यकर्ताले अपनाउनु पर्ने सिद्धान्त र मान्यता बुँदागत रूपमा प्रस्तुत गरेको छु।
१. वैचारिक रूपमा स्पष्ट र दृढ
मार्क्सवादी-लेनिनवाद जबजको विचार धारामा आधारित: एक कम्युनिस्ट कार्यकर्ता समाजवादी सिद्धान्तमा दृढ र स्पष्ट हुनुपर्छ।
वर्ग सङ्घर्ष र श्रमिक वर्गको नेतृत्वलाई महत्त्व दिने।
विचार र व्यवहारको एकरूपता कायम राख्ने।
२. अनुशासित र इमानदार
पार्टी र संगठनको सिद्धान्त नीति नेतृत्व नियम र निर्णय र निर्देशनलाई पालना गर्ने।
इमानदार, निष्ठावान, र स्वार्थरहित भावनाले काम गर्ने।
व्यक्तिगत स्वार्थभन्दा जनताको सामूहिक हितलाई प्राथमिकता दिने।
३. जनतासँग घुलमिल हुने
कार्यकर्ता “जनताको सेवक” हो भन्ने भाव राख्नुपर्छ।
घर-घर पुग्ने, जनताका समस्या बुझ्ने र समाधान खोज्ने।
जनताले सामना गरिरहेका दुःख-पीडामा साथ दिने र तिनको समाधानका लागि संघर्ष गर्ने।
जनतालाई माटो मानेर आफू बीउ भई जनताको तहमा जरा गाजनु पर्छ ।
४. संघर्षशील र बलिदानी भावना
अन्याय, शोषण र विभेदविरुद्ध लड्ने दृढता राख्ने।
व्यक्तिगत बलिदान गर्न पनि पछि नहट्ने।
चुनौती र कठिनाइका बाबजुद आफ्नो मार्गमा दृढ रहने।
५. सचेत र शिक्षित
निरन्तर अध्ययन र आत्मसुधार गर्ने।
समसामयिक राजनीतिक, आर्थिक र सामाजिक घटनाक्रमबारे सचेत रहने।
प्रविधि र विज्ञानको उपयोग गर्दै समयअनुकूल रणनीति बनाउने।
६. साधारण जीवनशैली
विलासिताबाट टाढा रहँदै, साधारण र मितव्ययी जीवन बिताउने।
जनताले आफूलाई नजिकको साथीको रूपमा अनुभूति गर्ने गरी व्यवहार गर्ने।
स्वच्छ आचरण नैतिकवान र रा यजनीतिक जीवनको निरन्तरता प्रमुख विषय हो भन्ने कुरा हेक्का राख्नुपर्छ।
७. संगठनात्मक क्षमतायुक्त
पार्टीको नीति, योजना र कार्यक्रमलाई जनतामा लैजाने।
जनताबीच एकता र संगठन निर्माणमा सक्रिय रहने।
सामूहिक नेतृत्व र निर्णयको परिपालना गर्ने।
८. विरोधी विचारसँग बहस र प्रतिवाद गर्ने क्षमता
असत्य र गलत विचारको खण्डन गर्दै सही विचार र दृष्टिकोण अघि सार्ने।
तथ्य र तर्कसहित जनतामा वैचारिक स्पष्टता ल्याउने।
९. विकास र परिवर्तनमा अग्रसर
कम्युनिस्ट कार्यकर्ता समाजको समग्र परिवर्तन र विकासको अभियन्ता हो।
शोषणमुक्त, समानतामा आधारित र न्यायपूर्ण समाजको निर्माणमा अग्रसर रहने।
विकासको योजना कार्यान्वयनमा सक्रिय भइने।
१०. आत्मालोचना र सुधारको भावना
आफैँको कमजोरी स्वीकार गर्ने र आत्मसुधारमा लाग्ने।
आलोचना र आत्मालोचना प्रक्रियालाई व्यवहारमा उतार्ने।
आफ्ना गलत क्रियाकलाप सच्याउँदै जनताको विश्वास जित्ने।
निष्कर्ष
अन्त्यमा कम्युनिस्ट कार्यकर्ता भनेको विचारधारात्मक रूपमा दृढ, व्यवहारमा अनुशासित, समाजप्रति जिम्मेवार र जनताको सेवा गर्न प्रतिबद्ध व्यक्ति हो। यस्तो कार्यकर्ता जनताको आत्मीय मित्र, सहयोगी र परिवर्तनको अभियन्ता हो।
प्रतिक्रिया