काठमाडौँ-गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वन्तत्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको तस्वीर सार्वजनिक भएको विषयमा यथार्थ छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ।
बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको हो।
बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जालमा हिरासत कक्षभित्रको तस्बिर भन्दै सार्वजनिक गरेका थिए। गृहमन्त्री लेखकले उक्त तस्बिरको विषयमा छानबिन गरी दोषीलाई तत्काल कारबाहीका लागि प्रहरी प्रमुखलाई निर्देशन दिएको जानकारी दिनुभयो ।
‘यो विषयमा छानबिन गरी दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु’, गृहमन्त्री लेखकले भन्नुभयो, ‘हिरासतमा रहेको दाबी गरिएको तस्बिरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ।’
त्यसैगरी प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि तस्बिर सार्वजनिक गरिएको भनिएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो।
प्रतिक्रिया