काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पहुँचका भरमा योजना छनौट गर्ने चलनको अन्त्य गर्नुपर्ने बताउनु भएको छ। कुनै पहुँचवाला वा शक्तिमा रहेको व्यक्तिको प्रभावका भरमा योजना तर्जुमा गर्न नहुने उहाँको भनाई छ।
काठमाडौंको कुलेश्वरस्थित जनमैत्री बहुमुखी क्याम्पसको ३४औं वार्षिक उत्सवलाई शनिवार संसम्बोधन क्रममा उहाँले आवश्यकता र प्राथमिकतामा आधारमा छनौट भएका योजना मात्र प्रभावकारी र उपयोगी हुने समेत बताउनुभयो। ‘कुन योजना वा पूर्वाधारले कति नागरिकलाई सुविधा दिन्छ, यो कति आवश्यक छ, यसले आर्थिक विकास र उपार्जनमा कति सहयोग पु¥याउँछ भन्ने कुरालाई ध्यान दिन जरुरी छ’ मन्त्री दाहालले भन्नुभयो, ‘कसैका गोजीबाट योजना छनौट हुने र राज्यको श्रोत खर्च गर्ने परिपाटी अन्त्य गर्नु पर्छ।’
प्राविधिक तथा जीवन उपयोगी शिक्षामा जोड दिन सके स्वदेशमानै युवाहरु टिक्न सक्ने वातावरण बन्ने भन्दै उहाँले आफ्नै देशमा गरि खान सक्ने शिप र शिक्षा अहिलेको आवश्यकता रहेको पनि बताउनुभयो। क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. डिल्लीराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा अवकास लिएका प्राध्यापकहरुलाई सम्मान सहित विदाई गरिएको थियो भने लामो समय काम गरेकालाई दिर्घसेवा पदक प्रदान गरिएको थियो।
कार्यक्रममा विभिन्न तह र संकायमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई विभिन्न छात्रवृति कोषबाट पुरस्कृत गरिएको थियो। यस्तै वार्षिकोत्सवका अवसरमा सांस्कृतिक कार्यक्रम र रक्तदान समेत गरिएको क्याम्पस प्रमुख भोलानाथ ओझाले जानकारी दिनुभयो।
प्रतिक्रिया