अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनकपुर बोल्ट्सलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो: यो सम्पूर्ण नेपालीको जित हो

जनकपुर बोल्ट्सलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो: यो सम्पूर्ण नेपालीको जित हो


जनकपुर-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गर्नुभएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टिमका क्याप्टेन र खेलाडीका साथै नेपाल क्रिकेट संघ र खेलका व्यवस्थापकलाई बधाई दिनुभएको हो।

शनिवार कीर्तिपुर क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट्सले एनपीएलको उपाधि जितेको थियो।

प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठूला सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न आग्रह गर्नुभयो।

‘यो हामी सबैको जित हो। नेपालीको जित हो। एनपीएलको जित हो। यस खेलमा तपाईँहरूको असाधारण क्षमता देखिएको छ। दोस्रो हुने सुदूरपश्चिम पनि कमजोर थिएन। कठोर चुनौतीको सामना गरेर विजय हासिल गर्ने जनकपुर बोल्ट्सका खेलाडीहरु बधाईका पात्र हुनुहुन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तपाईँहरु हिरो हो। नायक र महानायक हो। म तपार्ईँहरुको प्रशंसा गर्दछु। खेलको विकासले देश विकासको स्तर पनि मापन गर्छ, आगामी दिनमा अझ ठूला सफलता हासिलका लागि म शुभकामना दिन्छु।’

आफू प्रधानमन्त्री भएपछि कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतिसम्बन्धी पहिलो निर्णय गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसका लागि बोलपत्र आह्वान भइसकेको बताउनुभयो। उहाँले नेपालको खेल क्षेत्रको विकासका लागि आफ्नो र सरकारको प्रयास निरन्तर हुने बताउनु भयो।

विदेशी खेलाडी नेपाल आउँदा र नेपालको खेल क्षेत्रमा विदेशको लगानी वा सहयोग ल्याउन झन्झटिलो प्रक्रिया भएको क्रिकेट संघ र खेल व्यवस्थापकका गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाउनु भयो।

सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिँदै विदेशका राम्रा खेलाडीको श्रम स्वीकृतिसम्बन्धी झञ्झटिलो प्रक्रिया अन्त्य गराउन आग्रह गर्नुभयो। जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले प्रधानमन्त्री ओलीसँग भेटेर बधाई र सम्मान पाउँदा आफूहरुलाई खुसी भएको प्रतिक्रिया दिनुभयो।