अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार गोपाल दाहालमाथि धम्की आएकोबारे बुझ्न महासंघले खटायो टोली

पत्रकार गोपाल दाहालमाथि धम्की आएकोबारे बुझ्न महासंघले खटायो टोली


काठमाडौं-नेपाल पत्रकार महासंघले पत्रकार गोपाल दाहालमाथि धम्की आएको विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन पेस गर्न एक टोली खटाउने निर्णय गरेको छ।

नवनिर्वाचित कार्यसमितिलाई मंगलबार पद हस्तान्तरणपछि बसेको पहिलो बैठकले समाचारको विषयलाई लिएर पत्रकार दाहालमाथि ज्यान लिनेसम्मको धम्की आएकोबारे बुझ्न टोली खटाउने निर्णय गरेको हो।

पत्रकार दाहालमाथि ज्यान लिनेसम्मको धम्की आइरहेका सन्दर्भमा स्थलगत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी महासङ्घका केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा मिडिया मिसन गठन गरिएको महासचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो।

टोलीमा अर्का केन्द्रीय सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ कोशीका अध्यक्ष भरतबहादुर खड्का र सुनसरी महासंघका अध्यक्ष सन्तोष काफ्ले छन्।

खोज पत्रकारिता केन्द्र (खोपके) मा पत्रकार गोपाल दाहालले ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान’ शीर्षकमा समाचार लेख्नुभएको थियो। समाचार प्रकाशित भएपछि मेयरसहित उहाँका समर्थकहरूले पत्रकार दाहाललाई धम्की दिइरहेकाले मिसन टोली खटाइएको महासंघले जनाएको छ।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र आर्थिक संकट व्यहोरिरहेको नेपाली पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि दृढतापूर्वक उभिने प्रतिबद्धता पनि जनाएको छ।

केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण हुँदै गरेका सञ्चारसम्बन्धी कानुनहरूलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुको साथै खबरदारी गर्ने पनि महासंघको निर्णय छ।